नेपालगञ्जमा दशहरा मेला : आज रावण वध गरिँदै
बाँके । नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटस्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण वध गर्न लागिएको छ ।
रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५६औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण वध गरिनेछ । रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको आजको कार्यक्रम दिउँसोदेखि शुरु भएको छ ।
आज साँझ रावणको वधपछि राति १० बजेदेखि रातभर रामलिला मञ्चन गरिने आयोजक रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ ।
भोलि भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारत समेत सर्वसाधारण आउने गर्दछन् ।
दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न प्रदर्शनी कक्ष समेत राखिएका छन् । महोत्सवका अवसरमा सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
डेढ सय वर्षभन्दा अघिदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, बाणासुर लिला, सीता स्वयंवर, राम वनवास, दशरथ मरण, सिता हरण, लङ्का दहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रदर्शन भइसकेको समितिका सदस्य भरत किशोर वैश्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्