नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो छवि कायम गरेको बताउनुभएको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल प्रहरीको ६८ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले अपराधको अनुसन्धान, नियन्त्रण एवं रोकथाममा प्रहरीले निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रिय जगतले पनि मूल्याङ्कन गरेको उल्लेख गर्नुभयो ।
कर्णालीजस्तो दुर्गम स्थलमा रहेर भौतिक संरचनाविहीन अवस्थामा पनि प्रहरीले गरेको कार्यको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री शर्माले भन्नुभयो, “बास नपाएर प्रहरीले काम गर्नुपर्ने अवस्थाले सरकारलाई सचेत बनाएको छ । यो समस्या समाधानमा लाग्छौँ । आर्थिक रूपले समृद्ध र सामाजिक न्यायबाट समुन्नत समाज निर्माण हुने भन्दै उहाँले अझै पनि नागरिकको शान्ति र सुरक्षार्थ दत्तचित्त भएर लाग्न प्रहरीलाई निर्देशन दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सङ्घमा प्रहरी ऐन तथा प्रदेशमा प्रहरी सुपरिवेक्षण ऐन पारित भइसक्दा पनि प्रहरीमा समायोजन गर्न नसक्दा सङ्घीयता कार्यान्वयनमा आशङ्का उठ्न थालेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले जनताको सारथी बनेर प्रहरीले काम गरेको अनुभूति भएको उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी सङ्गठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो ।
कार्यक्रममा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट गरेबापत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई पुरस्कृत गरिनाका साथै राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्