तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा यसवर्ष दशैं लक्षित ८ हजारबढी खसी बोका भित्रिँदै

पोखरा । नेपालीहरूको महान् चार्ड वडा दशैंको अवसरमा पोखरामा करिब ८ हजार खसी बोका बिक्री वितरण हुने भएको छ । पोखरा खसी बोका व्यवसायी समितिले गण्डकी प्रदेशका केही जिल्ला तथा छिमेकी जिल्लाबाट पोखरामा करिब ८ हजार खसी बोका भित्र्याउँदै गरेको समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले बताउनु भयो । 

कोरोनाको कारण देशमा आर्थिक मन्दिले गर्दा बजारमा खासै चहल पहल कम भएकोले यस बर्ष आफूहरूले पहिलाको तुलनामा करिब ४० प्रतिशत कम खसी बोका ल्याउँदै गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

यस वर्षको दशैं पर्वमा बजारमा पनि कम चहल पहल हुने, होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरू राम्रोसँग सञ्चालन नहुँदा खसी बोकाको खपत पनि कम हुने पूर्व अनुमान गरि यस बर्ष कम खसी बोका पोखरा भित्र्याउँदै गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । भेडा—च्याङ्ग्रा पोखरामा कति आउँछन्, त्यसको आधारमा खसी बोकाको मागमा भर पर्ने उहाँको भनाई छ । 

पोखरामा अन्य समयमा दैनिक जसो २ सय देखि २ सय ५० वटा खसी बोका खपत हुने गरेकोमा हिजोआज भने आर्थिक मन्दीका कारण करिब ३०/३५ वटा मात्र खपत हुने गरेको उहाँले जनाउनु भयो । कास्कीमा व्यवसायीक रुपमा खसी बोका उत्पादन नहुँदा आफूहरूले करोडौँको खसी बोका अन्य जिल्लाबाट भित्राउनु परेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

पाल्पा, नवलपरासी, स्याङजा, गोर्खा, तनहुँ लगायतको क्षेत्रबाट खसी बोका पोखरा ल्याउने गरेको उहाँले जनाउनु भयो । जिउँदो खसीको प्रतिकेजी ६ सय देखि ६ सय ७० रुपैयाँसम्म पर्ने गरेको छ भने खसीको तयारी मासु प्रति केजी १ हजार २ सय रुपैयाँ सम्म पर्ने गरेको छ । 

यसैबिच, विजया दशमीको अवसर पारेर पोखरा महानगरपालिका वडा नं २८, सौर्यबजारमा खसीबोकाको प्रदर्शनी हुने भएको छ । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मूल्य तथा पशुपालनलाई  प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि खसी बोका प्रदर्शनी गर्न लागिएको पोखरा वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले बताउनु भयो । 

उत्पादनमा आधारित पशुपालनलाई प्रवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनु भयो । भोलि(मङ्गलवार) आयोजना हुने प्रदर्शनीको स्थानीय व्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ ।  

त्यसैगरि प्रदर्शनीको विशेष सहयोगीमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की ,व्यावसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन् । पशुपालकले आफूले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ भने खसी बोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरू पनि भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सबैभन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button