नेपालकै सर्वाधिक राशिको खुला फुटसल प्रतियोगिता सुरु
पोखरा । पोखरामा नेपालकै सर्वाधिक राशिको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ सुरु भएको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालाको कभर्ड हलमा शनिबार देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सविन मेमोरियलले विजयी सुरुवात गरेको छ ।

‘परिवर्तनका लागि खेलकुद’ नारा सहित आयोजना भएको उद्घाटन खेलमा सविन मेमोरियलले बाझा पाटन फुटबल क्लब (बी—थर्टीन) लाई २—१ को गोल अन्तरले पराजित गरेको हो ।
दोस्रो खेलमा शिशुवा भद्रकाली फुटबल क्लबले ड्रिमर्च फुटबल क्लबलाई ६—३ को गोल अन्तरले पराजित गर्यो ।

भोलि (आइतबार) बिहान ८ः०० बजेदेखि खेल सुरु भई ५ खेल हुने छन् ।
यसैबिच उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल र फुटबल खेलको विकासमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

यही असोज ३० गतेसम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले बताउनुभयो । पहिलो संस्करणका विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।
विधागततर्फ प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्