पर्सामा मिटरव्याजी विरुद्धको ३ सय ८८ उजुरी फर्छ्यौट

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले मिटरब्याजी विरुद्ध परेको उजुरीमध्ये ३ सय ८८ उजुरीमाथि फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका १ हजार ३ सय २१ उजुरीमध्ये हालसम्म छलफल विधिबाट ३ सय ८८ उजुरी पीडितको पक्षमा फछ्र्यौट गरिएको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सहमति नभएपछि २ वटा भने मुद्दा दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार छानविन पश्चात् ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा ७ करोड नौ लाख ३० हजार ४ सय ७४ फिर्ता गराइएको छ । मिटरब्याजी विरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी पीडितको उजुरी बढी परेको बताइएको छ ।
कोही कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक बनाउने गरेको, दोब्बर तेब्बरसम्म बढीको बैङ्क चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो ।
दर्ता भएका उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको भनाइ छ ।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख भएको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्