पोखरामा सातौँ अन्तर्राष्ट्रिय हेमजा गोल्डकप कार्तिक दोस्रो साता हुने

पोखरा । सातौँ संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिता २०८० आउँदो कार्तिक दोस्रो साता देखि हुने भएको छ । पोखरा २५ स्थित हेमजा युनाइटेडको आयोजनामा आउँदो कार्तिक महिनाको दोस्रो साता उक्त प्रतियोगिता हुने भएको संस्थाका अध्यक्ष राजेश त्रिपाठीले बताउनु भयो ।
कार्तिक ११ देखि १८ गतेसम्म हेमजाको गौरीशंकर खेल मैदानमा हुने उक्त प्रतियोगितामा एक विदेशी सहित नेपालका ए डिभिजनका ८ टिमको सहभागिता हुने तयारी गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । कम्तीमा एक विभागीय टोली समेत सहभागी हुने गरी आन्तरिक तयारी गरेको उहाँको भनाई छ ।
प्रतियोगितामा विजेताले ६ लाख ५५ रुपैयाँ र उपविजेताले ३ लाख ५५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको प्रतियोगिताका आर्थिक संयोजक महादेव अधिकारीले बताउनु भयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, अनुशासित टोलीलाई २५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षक गरी ५ विधाका खेलाडीहरूलाई जनही ५/५ हजार पुरस्कार प्रदान गरिने भएको छ । हरेक खेलको म्यान अफ दी म्यानलाई ५ हजार नगद सहित पुरस्कार प्रदान गरिने भएको छ ।
उक्त गोल्डकप हेमजाको गौरव भएकोले यसमा सबै क्षेत्रको सहयोग आवश्यक भएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । ७ दिन चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ५८ लाख ८४ हजार खर्च लाग्ने भएको छ भने प्रतियोगिताबाट ७० लाख आम्दानी गर्ने लक्ष्य राखिएको आर्थिक संयोजक अधिकारीले बताउनु भयो । युवा एकता र विकासका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताबाट बचत रकम ४० प्रतिशत रकम हेमना यूनाइटेड एकेडेमी सञ्चालनार्थ खर्च गरिने भएको छ भने बाँकी रकम प्यारापिट निर्माणमा लगायतका सामाजिक कार्यमा खर्च गरिने भएको सचिव सुनिल गायकले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्