तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनको अभियान रोकिने छैन : गृहमन्त्री श्रेष्ठ

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियान नरोकिने बताउनुभएको छ ।

सोमबार हेटौँडामा रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले सरकार सुशासन, भ्रष्टाचारको अन्त्य, संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थायित्व कायम गर्न सरकार प्रतिबद्ध भएर अघि बढिरहेको भन्दै यो अभियान नरोकिने बताउनुभयो ।

उहाँले सुशासनको अभियान तुहाउन निकै तानाबाना बुनिँदै गरे पनि भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रुपमा चलिरहने बताउनुभयो । तस्करहरूलाई पक्राउ गर्दा सरकार र गृह मन्त्रालय विरुद्ध केही शक्ति लागिपरेको उहाँको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले पहिले प्रहरी र गृह प्रशासनका कर्मचारी सरुवा गर्दा निकै बेथिति रहे पनि अहिले नियम बनाएर मात्र सरुवा, बढुवा, पदस्थापन गर्ने गरिएको बताउनुभयो । गृहमन्त्री र गृह सचिवले हरेक दिन सुराकीका नाममा लिने गरेको सुविधा खारेज गरी सुशासनको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button