तपाईँ सुन्दै हुनुहुन्छः

सडकमा फोहोर फाल्ने सिद्धार्थ बैङ्कलाई १० हजार जरिवाना

वीरगंज । सफा र समृद्ध बीरगंज बनाउने अभियानमा वीरगंजमा रहेका बैंकका शाखा कार्यालयहरू बाधक बन्दै गएको पुष्टि भएको छ । 

आदर्शनगर क्षेत्रमा रहेका अधिकांश बैङ्कका शाखाहरूले गर्दा फोहर व्यवस्थापन र सरसफाइ चुनौतीपूर्ण बन्दै गएको छ । वीरगञ्ज महानगरपालिकाले नगरलाई हरियाली तथा सरसफाइ गर्ने अभियान चलाइरहेको समयमा बैङ्कहरू भने सडकमा जथाभाबी फोहोर फाल्ने गरेको महानगरका सरसफाइ तथा वृक्षारोपण समितिका संयोजक जयप्रकाश खेतानले बताउनु भयो ।

यसै क्रममा वीरगञ्जको आदर्शनगर चोकस्थित सिद्धार्थ बैङ्क लिमिटेडले आज बिहान सडकमा फोहर फालेको समयमा नगर प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

बैङ्कका सफाइकर्मीले सडकमै जथाभाबी फोहोर फालेर हिँड्न थालेपछि नगर प्रहरीले पक्राउ गरी १० हजार रुपैयाँ जरिवाना गरेको खेतानले बताउनु भयो । वीरगंजलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितासँगै मात्रै सम्भव रहेकाले यसलाई अटेर गर्दै फोहोर गरेको भेटिएपछि बैङ्कलाई कारबाही स्वरूप जरिबाना गरिएको हो । फेरि बैङ्कले गल्ती नगरोस् भनेर जरिवाना सहित चेतावनी समेत दिइएको छ । 

वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमानले सिंह निर्वाचित भएर आएसँगै नगरमा हरियाली र सरसफाइलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्नु भएको छ । उहाँले चलाएको अभियान पश्चात् अहिले वीरगंजको बजार क्षेत्र सफा देखिएको छ । 

फोहर व्यवस्थापनका लागि महानगरले प्रत्येक वडामा दिनमा कम्तीमा पनि दुई पटकसम्म फोहर सङ्कलन गर्नका लागि ट्याक्टर पठाउने गरिएको छ । एक त जनशक्ति कम छ, त्यसमाथि लापरवाही बढ्दै गएमा फेरि वीरगंज पुरानै अवस्थामा फर्कने त होइन भन्ने चिन्ता समेत बढेर गएको छ । वीरगंज महानगरपालिकामा कार्यरत २ सय ५७ जना सरसफाइकर्मी एक साथ हटेसँगै अहिले नगर क्षेत्रको सरसफाईमा कर्मचारीको अभाव भएको छ ।

यसैगरी वीरगंज महानगरपालिकाको टोली सडक पेटीमा जथाभाबी फोहोर फालेको आरोपमा जितेन्द्र प्रसाद कलवारलाई ५ हजार, चन्दनकुमार कुम्हाललाई २ हजार , रमेश सिंहलाई  १ हजार जरिवाना गरेको वीरगंज महानगरपालिकाका  सरसफाई शाखा प्रमुख सरफुद्दिन मियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button