तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छ’

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताउनुभएको छ ।

क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नुभएका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष चन्दले पाएको जिम्मेवारी बहन गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताउनुभयो । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उहाँको भनाइ छ । यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

सचिवमा पूर्व कप्तान खड्का निर्वाचित
नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का विजयी हुनुभएको छ ।

क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्व कप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँ क्यानको बागमती प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ मत प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गर्नुभयो ।

निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहने उहाँको भनाइ छ ।

क्यानको अध्यक्षमा चन्द पुनः निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button