तपाईँ सुन्दै हुनुहुन्छः

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गर्नुभएको छ। ‘यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो’, कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

‘सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ । यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हक–अधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु’, कार्यवाहक प्रधानमन्त्री खड्काको शुभकामना सन्देशमा भनिएको छ ।

‘यस अवसरमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथै विभिन्न समयमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने श्रद्धेय नेताहरूसहित समस्त राजनीतिकर्मी तथा सम्पूर्ण नेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button