तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै
म्याग्दी । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।
तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँसु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरिलै ।
केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरू गुन्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमान्को खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।
उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुभयो, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुख दुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झलझली सम्झन्छु । आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्टाउनै गाह्रो हुन्छ ।”
विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू आमाजू, ठुलीआमा, सानी आमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उपाध्यायले अनुभव सुनाउनुभयो । “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।
दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँले पनि चाडपर्वका नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुभयो । महिला अधिकारकर्मी समेत रहनुभएकी बानियाँले भन्नुभयो, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”
महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्यले पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृङ्खल गीतको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “चाडपर्व, संस्कृति र पहिचानलाई बचाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।
परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामीले तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुभयो । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि बिस्तारै हराउँदै गइरहेको छ ।
“तीज आउनु एक महिनाअघिदेखि गाउँघरतिर एक ठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे”, फगामीले भन्नुभयो, “अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”
त्यस्तै, डम्मराकी प्रिया कार्कीले नेपाली नारीहरूका लागि तीज पर्वको महत्त्व धेरै रहेको बताउँदै यो पर्व मनाउँदा महिलाले अरूको देखासिकी, तडकभडक भन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने बताउनुभयो । तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उहाँको भनाइ थियो ।
तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानी समेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको ज्यामरुककोट बगर फाँटकी शिवा घिमिरेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्