तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडमा विपी कोइरालाको प्रतिमा अनावरण

मकवानपुर । मकवानपुरको हेटौँडा–११, दुर्गा मन्दिर परिसर स्थित विपी बाटिकामा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको प्रतिमा अनावरण गरिएको छ ।

आइतबार बिपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले विपी कोइरालाको अर्थ कदको प्रतिमा अनावरण गर्नुभयो ।

विपी विचार समाज मकवानपुरको आयोजनामा गरिएको कार्यक्रममा नेता कोइरालाले विपी द्वार उद्घाटन गर्नुका साथै बाटिका परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रतिमा अनावरणपछि बोल्दै डा कोइरालाले बिपीकै कारण कांग्रेस यहाँसम्म आइपुग्न सफल भएको बताउनुभयो । उहाँले काँग्रेसभित्र पनि बिपीको सिद्धान्तलाई बिर्सने क्रम बढ्दै गएको भन्दै पार्टीलाई बलियो बनाउन बिपीले देखाएको सत मार्गमा हिँड्नुपर्ने बताउनुभयो ।

बाटिका निर्माण, प्रवेशद्वार निर्माण र अर्थ कदको प्रतिमा निर्माणका लागि बागमती प्रदेश सरकारले दुई चरणमा गरी २२ लाख रुपैयाँ प्रदान गरेको समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले बताउनुभयो ।

समाजका अध्यक्ष कोइरालाको सभाध्यक्षता तथा नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँसहित प्रदेश सभाका सदस्यहरु, जिल्ला सभापति बुद्ध लामा लगायत मकवानपुरका कांग्रेस नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button