तपाईँ सुन्दै हुनुहुन्छः

प्लस टु सकेर विदेश जाने युवालाई रोक्नु पर्छ : अर्थमन्त्री महत 

पोखरा । अर्थ मन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार हुँदै आएको बताउनु भएको छ ।  पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारणको सोमबार पोखरामा उद्घाटन गर्दै मन्त्री डा.महतले नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै आएको बताउँदै व्यवसायीहरूलाई केही समय धैर्य गर्न आग्रह गर्नु भयो । 

चालु आर्थिक वर्षको भदौको दोस्रो सातासम्म आउँदा अघिल्लो वर्षको तुलनामा राजश्व सङ्कलन, पर्यटन आगमनमा वृद्धि लगायतका केही सूचाकाङकमा सुधार हुँदै आएकोले व्यवसायीहरूलाई अझै केही समय धैर्य गर्न उहाँले आग्रह गर्नु भएको हो । सरकारको सामाजिक दायित्व र विदेशबाट लिएको ऋणको व्याज तिर्न तथा क्रमागत योजानमा बजेटमा विनियोजन गर्नुपर्ने भएकोले सरकारले यस वर्ष धेरै बजेट विकासका योजनालाई विनियोजन गर्न नसकेको उहाँको भनाई थियो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा सरकारले छलफल गर्दै अघि बढेको मन्त्री डा.महतले बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले हाल रनिङ कस्ट धान्न समेत कठिन हुने अवस्था रहेको उहाँले बताउनु भयो । पोखरा विमानस्थल  कहाँबाट के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खोजी गरिएको मन्त्री डा.महतले बताउनु भयो । निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई उडान गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । 

नेपालको पर्यटनको सम्भावना भएको दाबी गर्दै उहाँले नेपालको पर्यटनको केन्द्र घोषणा गरे पनि नगरे पनि पोखराको विकल्प नभएको मन्त्री डा.महतले दाबी गर्नु भयो । प्रकृति, संस्कृति, पर्यटकीय गन्तव्य, भूगोल लगायतका हिसाबले पनि नेपालकै पर्यटनको मुख्य आकर्षणको केन्द्र पोखरा भएकोले केही समय पश्चात् पोखरामा धेरै पर्यटक आगमन हुने उहाँले दाबी गर्नु भयो । केही समय धैर्य गर्न आग्रह गर्दै मन्त्री डा.महतले बर्खायाम सकिने बित्तिकै पोखरा मुग्लिङ सडक खण्डको काम थप प्रभावकारी र व्यवस्थित हुने हुँदा पोखरा क्षेत्रमा सडक मार्ग हुँदै पोखरा आउने पर्यटनको सङ्ख्यामा वृद्धि हुने दाबी गर्नु भयो । पोखराको पर्यटनको ट्रान्जिट प्वाइन्ट बनाउनु पर्ने उहाँको सुझाव थियो । 

नकारात्मक माहौलले गर्दा हाल देशका युवा जमात नै विदेश जान चाहेको उहाँको भनाई थियो । नेपालमा धेरै सम्भावना हुँदा हुँदै विदेश जानु उपयुक्त निर्णय नभएको बताउँदै मन्त्री डा.महतले अब प्लस टु मात्र सकेर विदेश जाने निर्णयलाई रोक्नु पर्ने आफ्नो धारणा राख्नु भयो । व्याचलर गरेर विदेश जाने पहिलाको चलनमा हाल प्लस टु सक्ने बित्तिकै प्रायः धेरैका छोरा छोरी विदेशमा अध्ययन गर्नको लागि करोडौँ खर्च गरेर जानुले देशको अर्थतन्त्रलाई समेत असर पारेको उहाँको भनाई थियो ।

विदेशमा जानेहरू मध्य केहीले दुःख पाएको, नेपालको धेरै रकम शिक्षाका लागि बाहिरिएकोले कक्षा १२ पढेर विदेश जाने युवाहरूलाई तत्काल रोक्नु पर्ने अवस्था आएको उहाँको धारणा थियो । नेपालमा शिक्षा राम्रो हुँदा हुँदै लटका भरमा ५० गुणा बढी रकम दिएर विदेश पठाउने गरेको उहाँको भनाई थियो । नेपालमै विश्व स्तरकै र गुणस्तरीय तथा प्राविधिक कलेजहरू हुँदा हुँदै विदेशी नेपालको लागि ठुलो विडम्बना भएको मन्त्री डा.महतको भनाई थियो । 

गण्डकी प्रदेशका वन उद्योग पर्यटन तथा वाणिज्य मन्त्री दीपेन्द्र बहादुर थापाले धार्मिक पर्यटन सम्भावना भएको बताउनु भयो । पोखरालाई पर्यटनको हब बनाउने अभियानमा प्रदेश सरकार लाग्ने उहाँले उल्लेख गर्नु भयो । गण्डकी प्रदेशका सांसद देवका पहारीले जलवायु परिवर्तनको कारण प्रदेशमा ठुलो जोखिम बढेको दाबी गर्नु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले समय परिस्थितिको व्यवसायीले सामना गर्नुपर्ने बताउँदै समस्याको साझेदारी गर्न तयार रहेको बताउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराको आर्थिक विकासको मुल आधार पर्यटन नै भएको दाबी गर्दै सरकारी स्तरबाट लगानी र प्रवर्द्धनमा ध्यान नपुगेको दाबी गर्नुभयो । आर्थिक असमानता बढेको बताउँदै कर्जामा व्यवसायीको पहुँच पुर्‍याउनु पर्ने उहाँको जोड थियो । केही घरनाले नेपालको अर्थतन्त्र आफ्नो हातमा लिएकोले यसलाई समयमै नियमन गर्न नसके देशको अर्थतन्त्र खस्कने उहाँको भनाई थियो । परिषद्का पूर्व अध्यक्ष गोपी भट्टराईले विनियोजन भएको पर्यटनको रकम प्रोमोशनमा खर्च गर्न माग गर्नु भयो । होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अबको असोजमा होटल व्यवसायीहरूले किस्ता तिर्न नसक्ने चेतावनी दिँदै महानगरले घर तथा भवनको अभिलेखीकरणमा ३ सय रकम असुल्न खोज्नु न्यायोचित निर्णय नभएको गुनासो गर्नु भयो । अहिलेको अवस्थामा होटल बुकिङ खासै नआएको अध्यक्ष सुवेदीले गुनासो गर्नु भयो । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव सञ्जयकान्त सिग्देलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button