तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी दुहबीका ८० घर सुकुम्वासीले पाए पक्की घर 

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले सुकुम्वासीहरूलाई आज एक कार्यक्रम गरी ८० जना घरधुरी परिवार लाई पक्की घर वितरण गरेको छ ।  

नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्वासी परिवारहरूलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गर्नुभएको हो । 

नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिक रुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ८०  परिवारका लागि नमुना बस्ती निर्माण गरिएको नगरप्रमुख गच्छदारले बताउनुभयो ।

नगरपालिकाको वार्षिक विनियोजित बजेट मार्फत दुहबी नगरपालिकाले वडा नम्बर ११ मा करिब दुई बिगाहा क्षेत्रफलमा तीन वर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी आज नगर प्रमुख गच्छदारले प्रमाण पत्र सहित घरको साँचो प्रदान गरी हस्तान्तरण गरेको हो ।

सुकुम्बासीका लागी निर्माण गरिएका घरहरूमा बेडरुम, किचन, शौचालय,स्नानगृह, बिद्युत्, चौबिसै घण्टा खानेपानी , प्लेग्राउण्ड सहितको नगर आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । अगामी चरणमा नगर आवास भित्र प्रारम्भिक बाल शिक्षालय,सामुदायिक भवन, ग्रोसरी, स्वास्थ्य क्लिनिक सुविधा सहितको आधुनिक आवास निर्माणको चरणमा रहेको नगर प्रमुख गच्छदारले बताउनुभयो ।   

फरक प्रसङ्गमा नगर प्रमुख गच्छदारले सुकुम्वासी समस्या मुलुककै समस्या हो, तर नगरपालिकाले आफ्ना नागरिकलाई केही सुविधा प्रदान गर्न सकिन्छ कि समस्या ग्रसित सुकुम्वासीलाई स्थायी बासस्थान दिएर मुहारमा खुसि भर्न सकिन्छ भनेर नगर प्रमुख आवास योजना कार्यक्रम अभियान सञ्चालन गरेको बताउनुभयो ।

नगर प्रमुख गच्छदार अनुसार केही महिना अघि दुहबीका १२ वटै वडाका बासीहरूबाट निवेदन माग गरी छनोट प्रक्रिया मार्फत अति विपन्नमा रहेका परिवारहरूलाई नामावली सङ्कलन गरि आज कार्यक्रम मार्फत ८० घरधुरी परिवारलाई घर वितरण गर्नुभएको हो ।

नगरप्रमुख गच्छदारले नगर आवास योजनालाई सफल बनाउने सम्पुर्ण पूर्व जनप्रतिनिधि लगायत सम्पुर्ण सरोकारवालाहरूलाई धन्यवाद दिँदै नगर आवास भित्र निर्माणाधीन अवस्थामा रहेका सामुदायिक भवन , सामुदायिक विद्यालय चाडै नै सम्पन्न गरिने बताउनुभयो । 

मेयर गच्छदारले वितरण गरिएका ८० घर धुरीका घरपरिवारको महिला सदस्यहरूलाई आउने दिनहरूमा लघु उद्यममा जोडी बिउँ पुँजी समेत प्रदान गरी उद्यमी व्यवसायीको रुपमा स्थापित गराउने गच्छदारले बताए । जसअनुरूप आज भूमिहीन तथा सुकुम्वासी भई बाच्नुपर्ने अवस्था सृजना भएता पनि अगामी दिनहरूमा तिनका सन्ततिहरू आफु अनुकूल अनुसार कम्तीमा १० धुर जग्गा सम्म जोड्न सक्ने स्थितिको हैसियत बनाउने मेयर गच्छदारले प्रतिबद्धता जाहेर गर्नुभयो ।

स्थानीय दुहबी वार्ड न. १० सिमरियाका रामदेव मोची भन्नुहुन्छ ‘मलाई आफ्नो जग्गा हुन्छ, घर हुन्छ भन्ने कल्पनासम्म थिएन ।’ सुकुम्बासी जीवन अन्त्य गरी जागा सहित घर पाएपछि आफ्नो दिनचर्या नै बदलिएको उनले बताए । यसै गरि दुहबी वार्ड न. ७ का नन्दन पासवानले हाल आफ्नो घर र जमिन देखेर आफैँ दङ्ग परेका छन्न । उनी भन्छन्, ‘कल्पना पनि गरेको थिइनँ, हाम्रो जीवनमा पनि आफ्नै घर र जमिन हुन्छ भने अत्यन्तै खुसी छौँ । स्थानीय सरकारले हामी गरिबलाई पनि हेरेको छ ।’ उहाँले बताउनुभयो ।

नगर आवास योजनाको आर्थिक वर्ष २०७६/०७७ मा टेण्डर प्रक्रिया मार्फत आव्हान गरी चार वटा चरणमा निर्माण प्रक्रिया सम्पन्न गरिएको नगरपालिकाका इन्जिनियर हेमनारायण माझीले जानकारी दिनुभयो । 

नगर आवासको कुल लागत ७ करोड ४७ लाख १५ हजार ९ सय ९४ रुपैयाँ रहेको जस मध्ये जग्गा खरिदमा ८६ लाख रुपैयाँ खर्चिएको थियो भने घर, बाटो निर्माण, धार ,पानी टेंकी , नाला र अधुरो सामुदायिक भवन निर्माणमा ६ करोड २० लाख ८९ हजार ९ सय ६६ रुपैयाँ खर्चिएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button