भैंसीपालन व्यवसायमा पूर्व मेयर
बाजुरा । हाम्रो देशमा सामान्यतया राजनीतिमा लागेका मान्छेहरू आफ्नो पेशा व्यवसायमा फर्किँदैनन् । पदमा रहँदासम्म राजधानी केन्द्रित हुन्छन् भने पद सकिएपछि शहर केन्द्रित हुने र योजना माग्ने कमिसनमा रमाउने चलन भने नयाँ होइन । कैंयौंले त पूर्व जनप्रतिनिधिको नाम जोडेर गुजरा चलाउँछन् । राजनीतिकर्मीले राजनीतिलाई सेवाभाव भन्दापनि व्यवसाय झैँ प्रयोग गर्छन् । तर,बडिमालिका नगरपालिकाका संस्थापक मेयर पदम बडुवाल भने राजनीतिलाई समाजसेवा र पेशा व्यवसायका रुपमा खेती किसानी, होटेल व्यवसाय र भैँसी पालनलाई सम्झिन्छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका उपसभापतिमा समेत सर्वाधिक बढी मत प्राप्त गरी निर्वाचित भएका पूर्व मेयर बडुवाल पार्टीको कामलाई समाजसेवाका रुपमा लिनुभएको छ भने भैंसीपालनलाई व्यवसायका रुपमा अङ्गाल्नुभएको छ । कुनैपनि उदाहरणीय काम गर्न आफैबाट सुरुवात गर्नुपर्छ भन्ने मान्यता राख्दै मेयर पदबाट बाहिरिएपछि गाउँमा भएको बगर जग्गामा डोजर चलाएर गह्रा समथर बनाए । करिब १५ रोपनी जग्गा पहिल्याए पछि अर्ग्यानिक खेतीका लागि अर्ग्यानिक मलपनि चाहिन्छ भन्ने उहाँको बुझाई छ । त्यसैले अर्ग्यानिक वाली उत्पादनका लागि अर्ग्यानिक मल व्यवस्थापन गर्न भैँसी पालन व्यवसाय छनौट गरेको बताउनुहुन्छ । आधुनिक गोठ निर्माण गरी दुई भैँसी गोठपसाली सक्नुभएको छ । थप भैँसीको खोजीमा हुनुहुन्छ ।
“योजना मागेर कमिसन खानुभन्दा गाउँमै बसेर नमुना काम गर्न सकिन्छ । जनप्रतिनिधिले गाउँमै बसेर नमुना काम गरेको अरूलाई पनि सिको होस् र उसले पनि आफ्नो पेशा व्यवसायमा नवीनता ल्यावस भन्ने सोच छ ।” उहाँले भन्नभयो । “मैले चार भैँसी पाले मेरो छिमेकीले पनि चार भैँसी पाल्न सिक्छ । मैले चार मुरी धान फलाए किसानले पनि त्यही सिक्छ । निकट भविष्यमा जडाङ्गा लाई दुग्ध उत्पादक क्षेत्र र स्थानीय मार्सी धान तथा अर्ग्यानिक आलुको पकेट क्षेत्र बनाउने सोचले आफु भैंसीपालन व्यवसायमा लागेको बडुवाल बताउनु हुन्छ ।” गाउँमा सबैले भैंसीपालन गरे निकट भविष्यमा दूध डेरी स्थापना गरी बाजुरामा दूध दही ,खोया ,पनिर ,घ्यु लगायतका दुग्धजन्य पदार्थ बेचेर बाजुरा ब्रान्डका रुपमा स्थापित हुनपर्छ भन्ने मान्यता पूर्व मेयर बडुवालकोे छ ।
मान्छेलाई व्यावसायिक बनाउन सरकारले रुपैंया दिने हैन, प्रविधि, प्राविधिक र सिप दिनुपर्ने सुुझाब उहाँको छ । किसानसँग प्राविधिक ज्ञान हुँदैन । सरकाले कृषि जेटिए कर्मचारी गाउँ गाउँमा पठाई दिनु पर्छ । अब परम्परागत खेती गरेर समय खर्चनु हुँदैन । किसानलाई प्रविधि मैत्री औजार उपकरणको व्यवस्था गरिदिनु पर्छ । त्यसैगरी उत्पादित बस्तुलाई बजार लिन किसानसँग व्यावसायिक सिप विकासका लागि सरकारले तालिमको व्यवस्था गरिदिनुपर्छ । बेला बेलामा सरकारी अनुगमन मूल्याङ्कन हुन पनि आवश्यक छ । अनिमात्र कृषक आत्मनिर्भर भई आफु पालिएर अरूलाई पाल्न सक्छ ।
रुपियाँ छरेर मात्र नागरिक व्यावसायिक बन्न सक्दैन । हरेक नागरिकलाई व्यावसायिक बनाउन विधि, प्रविधि, प्राविधिक ज्ञान र सिप दिए पुग्छ । आफूलाई पनि त्यही सिप र प्रविधिको खाँचो रहेको उहाँको भनाई छ ।
गाउँमा मोटर बाटो पुगेको छ, बिजुली बत्ती छ । टेलिफोन फोर्जी टावर छन् । सबै सुविधा गाउँमा छन् । किन शहर केन्द्रित हुने ? मान्छे शहरमा परनिर्भर हुन्छ गाउँमा बसे व्यावसायिक बन्छ । त्यसैले आफु पनि विगत सशस्त्र द्वन्दका कारण सहर बजार बसेँ । अहिले त्यो अवस्था रहेन सबै सुविधा गाउँमा छन् । नेता गाउँ बसे युवा पनि गाउँमै बस्छन् त्यसैले गाउँ फर्केको हुँ उहाँले भन्नुभयो ।
बडुवाल नगरप्रमुख हुँदा मार्तडी बजारका ६४ घर फालेर सदरमुकाम मार्तडी सडक सञ्जालको पहुँचमा छ । प्रविधिमैत्री बडिमालिका शहरी स्वास्थ्य केन्द्र, नगर शिक्षक लगायतका उल्लेखनीय कामले बडिमालिकालाई नमुना नगरपालिकाका रुपमा निर्माण गर्न पूर्व मेयर बडुवालको स्पष्ट कार्यदिशा सफल भएको हो नगरवासीको भनाई छ।
आफूलाई जननायक बिपी कोइरालाको विचारको अनुयायी बन्न भाषणमा हैन विपिले अबलम्वन गरेका राष्ट्रनिर्माणका नीतिलाई व्यवहारतः अनुसरण गर्न सकमात्रै देशमा समृद्धि आउनेमा आफु विश्वस्त छु , पूर्व मेयर बडुवालले भन्नुभयो ।
ग्रासहुट लेबलबाट आएका पूर्व मेयर बडुवालमा आफु लागेको ठाउँमा केही गर्नुपर्ने भन्ने मान्यता पहिले देखिनै थियो। विशेषगरी उहाँको कृषि व्यवसायले व्यक्तिगत फाइदा त हुने नै छ। बडुवालको उक्त अभियानले “समग्र समुदाय र अझ नेताहरूले टोपी ढल्काएर खाने हुन् भन्ने गलत बुझाइलाई चिर्दै राजनीतिक विशुद्ध समाज सेवा हो । मान्छेले व्यावसायिक बन्नुपर्छ भन्ने सन्देश गएको छ। त्यसैले बाजुरा विकासको प्रेरणाका श्रोतका रुपमा बडिमालिका नगरपालिकाका पूर्व नगरप्रमुख पदम बडुवाललाई लिन सकिन्छ ।” कृषि ज्ञान केन्द्रका बाजुराका अधिकृत मीनप्रसाद जैशीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्