तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी छल्दै माछा मार्दै थारु महिला

बाँके । वैशाखको उखरमाउलो गर्मी । गाउँघर सुनसान छ, सडकमा आवतजावत न्यून छ । तर आज बुधवार नजिकैको सिक्टाको नहरमा भने रौनक थियो । पूरै नहरको मुख मानवीय साङ्लोले थुनिएको थियो । परैबाट आवाज सुनिन्थ्यो– “कत्रा भारी मछरिया…? (कति ठूलो माछा ?)”

माछाका पारखी यो समुदायका महिलाहरू माछा, घोंघी, गँगटोका परिकार खान रुचाउने गर्छन् । गहुँ बाली भित्र्याएपछि राप्ती सोनारी गाउँपालिका–४ धामपुर गाउँलगायत नहर क्षेत्रका स्थानीयहरूलाई गर्मी छल्ने र बसिबियाँलो गर्ने माध्यम माछा मार्ने कार्य बनेको छ । कामबाट फुर्सद मिल्यो कि कम्मरमा डिलिया (माछा राख्ने भाँडो), काँधमा टापि, हेल्का, बोकी नदी नाला चहार्नु नै स्थानीयहरूको दिनचर्या बनेको हो ।

धामपुरकी सिता चौधरी भन्नुहुन्छ, “अहिले खेतीपातीको काम सकिएको हुँदा फुर्सदिला भएका छौँ । त्यसैले, दिउँसोको समयमा माछा मार्छौँ। जसबाट समयको सदुपयोग हुनुको साथै तरकारीको जोहो पनि भइहाल्छ।” सामूहिक रुपमा माछा मार्ने मछवारी कामसँगै साथीसंगीबीच दुःख, सुख सटासाट हुने गरेको चौधरीको भनाई छ ।

“आज भोलिको यो गर्मीमा घरमा बेकामे भएर बस्नुभन्दा त साथीहरूसँग यही काम गर्दा नै रमाइलो हुन्छ । सुख–दुःख सटासाट हुन्छ । रमाइलो लाग्छ”, माछा मार्दै गर्नुभएकी मोहिनी चौधरीले भन्नुभयो, “एकातिर गर्मी छल्न सकिने, अर्कोतिर एक दुई छाक तरकारीको जुगार पनि भइहाल्ने ।”

सिक्टा नहर मात्रै होइन, राप्ती नदी, तालतलैया स्थानीयको माछा मार्ने थलो हो । उसै पनि, आदिवासी थारु समुदाय जल, जङ्गल, जमिनमा आश्रित समुदाय हो । आफ्नो लागि मात्रै होइन, माछा मारेर पाहुनालाई स्वागत गर्ने यो समुदायको संस्कार हो । कुनै दिन बढी माछा मारेको अवस्थामा पक्ली (सिद्रा) समेत बनाउने छन् । 

नदीनाला, खोला, पोखरीमा पाइने रैथाने जातको रावा, पह्रनी, सेढरी, डिरा, चरंगी, सिङ्गी, टेंगना, बम्लीलगायत माछा बढी नै रुचाउने बताइन्छ ।

पछिल्लो समय खोलानालामा विष हाल्ने, विद्युतीय धराप थाप्ने कार्यले जलप्राणी लोप हुँदै गएपछि स्थानीयले समेत विष हाल्ने र विद्युतीय धराप थाप्नेहरूलाई कारबाही गर्ने चेतावनी दिनुका साथै नहरको संरक्षण गर्दै आएका छन् ।

स्थानीयले भने, “हामी जलजीवहरुको उपभोग गर्छौ भने उनीहरूको संरक्षण गर्न पनि उत्तिकै जरुरी छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button