डिजिटल र एआई पत्रकारिता सिक्दै लुम्बिनीका पत्रकार
बाँके । समाचार सङ्कलनदेखि प्रकाशनसम्मको सम्पूर्ण प्रक्रियामा डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा लुम्बिनी प्रदेशका पत्रकारहरू तालिममा सहभागी भएका छन्। डिजिटल युगमा पत्रकारितालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा यो तालिम सुरु गरेको हो।

अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारामा सुरु भएको तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकारहरू सहभागी छन्। उनीहरूलाई डिजिटल पत्रकारिता, एआईको प्रयोग, तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली, र सामाजिक सञ्जालको उपयोग जस्ता विषयमा व्यावहारिक प्रशिक्षण दिइँदै छ। प्रशिक्षकका रूपमा जीवन भण्डारी र किरण कौशलले प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव पाण्डव शर्माले गर्नुभएको थियो। उपाध्यक्ष रामप्रसाद आचार्यले तालिमको विषयमा प्रकाश पार्दा उपाध्यक्ष मीना ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो।
तालिम संयोजकका अनुसार तालिमलाई प्रदेशका १२ जिल्लाका पत्रकारहरू समेट्ने गरी ६ स्थानमा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। बर्दियाको ठाकुरद्वाराबाट सुरु भएको तालिम वैशाख १९–२० गते दाङको भालुवाङमा, त्यसपछि प्युठानको भिङग्री, पूर्वी रुकुमको रुकुमकोट, गुल्मीको तम्घास हुँदै रूपन्देहीको बुटवलमा सम्पन्न गरिनेछ।
प्रतिक्रिया राख्नुहोस्