तपाईँ सुन्दै हुनुहुन्छः

सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने निष्कर्ष

काठमाडौँ । बालबालिकाको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । ‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो ।

“नेपालमा सबै प्रकारका विद्यालयमा बहुभाषिकताका आधारमा सिकाइ हुनुपर्छ । यो सिकाइमा अवरोध या समस्या नभई सकारात्मक सोच हुनेछ ।” अध्ययनको निचोडमा भनिएको छ, “सिकाइस्तरको मूल्याङ्कन पनि एकै भाषाका आधारमा नभई बहुभाषिकताका आधारमै हुनुपर्छ ।” संविधानतः सबै मातृभाषा राष्ट्रभाषा भनिए पनि व्यवहारतः सबै भाषाको समान मान्यता नरहेको अवस्थामा अध्ययन प्रतिवेदनले सबै भाषाको सवलीकरणका लागि सरकारको प्रतिबद्धता समानरुपमा व्यक्त हुन सकेमा न्याय र समानता मिल्ने उल्लेख गरेको छ । 

डा प्रेमप्रसाद पौड्याल र डा ट्रयासी कोष्टीले नेतृत्व गर्नुभएको सो अध्ययनले बहुभाषाका माध्यममा पढाइनुलाई समस्या वा चुनौती नठान्न भनिएको छ । बालबालिकालाई उनीहरूको बोलीचालीको भाषामा पढाएमा कक्षा कोठामा सहजता हुनाका साथै धेरै अन्तर्क्रिया भई सिकाइमा अभ्यस्त हुने र सिकाइको आधारस्तम्भ बलियो हुने अध्ययनको सार रहेको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्राप्त सुझावलाई थप अध्ययन गरी शिक्षामा विद्यमान गुणस्तर सुधार्ने लक्ष्यका साथ नीतिगत परिवर्तन गरिने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बहुभाषिक सिकाइ नीतिलाई चरणबद्ध कार्यान्वयनमा लान सकिने जानकारी दिनुभयो । बहुभाषी नेपालमा एक सय २४ मातृभाषा छन् भने करिब ४५ प्रतिशतले खस नेपाली भाषी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button