तपाईँ सुन्दै हुनुहुन्छः

याे बजेटले आर्थिक संकट टर्दैन : एमाले सचिव भट्टराई

वीरगंज । नेकपा एमालेका केन्द्रिय सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटार्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले कृषिको भण्डारको रुपमा रहेको मधेस प्रदेशमा बजेटले उत्साह नदिएको भन्दै तराई मधेसमा सिँचाई, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको आरोप लगाउनु भयो ।

उहाँले बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको बताउनुभयो । नेकपा एमालेले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउँदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप समेत लगाउनु भयो । 

किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै सरकारले कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) को व्यवस्था गर्नुपर्ने बताउनुभयो । मधेस प्रदेश इन्चार्ज भट्टराईले अहिले कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना नरहेको समेत दाबी गर्नुभयो ।

एमालेले चाहेमा सरकार ढाल्न सक्ने भएपनि अहिले नै काँग्रेससँग मिलेर सरकार ढाल्ने पक्षमा एमाले नरहेको उहाँले प्रष्ट पार्नु भयो । 

उहाँले नेकपा विभाजनको मुख्य कारण ललिता निवास प्रकरण पनि भएको र त्यस विषयमा थप तथ्यहरू खोज्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भयो । 

नेकपा एमालेको मधेस प्रदेशको जिम्मेवारी पाएपछि पहिलो पटक वीरगन्ज आउनु भएका भट्टराईले असोज ५ र ६ गते प्रदेश अधिवेशन गर्ने तयारीमा लागेको जानकारी समेत दिनुभयो । उहाँले मधेसका ८ जिल्ला, १३६ स्थानीय तह, वडा कमिटीसम्म गठन गरेर पार्टी स्कुल सञ्चालन प्रशिक्षण, जनचासोको अभियान सञ्चालन गरेर ९० हजारलाई एमालेमा सङ्गठित बनाउने लक्ष्य लिएको बताउनुभयो ।  

मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको बताउँदै नेता भट्टराईले  केही तत्त्वहरूले भड्काउन खोजेपनि एमाले बलियो शक्ति बनेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button