लुम्बिनी प्रदेशसभा : विपक्षीको अवरोधबिच बजेटमाथि छलफल
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथिको छलफल अगाडि बढेको छ ।
विपक्षी दलको विरोधका बीच पनि सभामुख तुलाराम घर्तीले आजको बैठक सञ्चालन गर्दै बजेटमाथिको छलफल अगाडि बढाउनुभएको हो । सभामुखले छलफल अगाडि बढाए पनि प्रतिपक्ष दलका प्रदेश सदस्यहरूले ‘रोष्ट्रम’ अगाडि उभिएर विरोध जनाएका थिए ।

बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिती कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्नुभएको थियो ।
बजेट माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रदेश सदस्य बैजनाथ कलवारले अहिलेको बजेटले लुम्बिनीका ५२ वटै निर्वाचन क्षेत्रलाई न्याय गरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिपक्ष र सत्तापक्षलाई समान व्यवहार गरेको भन्दै उत्कृष्ट बजेट रहेको बताउनुभयो ।
स्वतन्त्र सदस्य खड्ग बस्नेतले बजेटका विषयमा उठाएका कुराहरू आफू केन्द्रितभन्दा पनि आम जनतालाई केन्द्रमा राखेर मुद्दा बनाउनुपर्ने सुझाव दिनुभयो ।
छलफलमा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री मास्कीले निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र समितिको प्रतिवेदनका आधारमा निर्णय गरिने बताउनुभयो । अबको बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । अर्थमन्त्री मास्कीले यही असार १ गते रु ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रदेशसभामा गतिरोध उत्पन्न हुनुमा स्वयम् सरकार नै जिम्मेवार रहेको प्रमुख विपक्षी नेकपा (एमाले)ले आरोप लगाएको छ ।








प्रतिक्रिया राख्नुहोस्