‘कानून निर्माण नहुँदा एकल अधिकारका विषयहरू कार्यान्वयनमा समस्या’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय कानून निर्माण नभएका कारण संविधानतः प्राप्त एकल अधिकारका विषयहरू कार्यान्वयनमा समस्या भएको गुनासो गर्नुभएको छ ।
आजदेखि पोखरामा सुरु भएको अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठकको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन नभएकाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न तथा सुरक्षा निकायसँग समन्वय गर्न कठिनाइ भएको बताउनुभयो ।
जग्गा प्राप्तिको समेत समस्या भएको उल्लेख गर्नुहुँदै उहाँले कर्मचारी सरुवामा समन्वय नहुँदा आएका जटिलतालगायत विषयमा छलफल भई समाधानका उपायहरू पहिल्याई संघ र प्रदेश सरकार बीचको सहकार्यलाई समन्वयकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश कानुनहरूमा एकरूपता कायम गर्दै अन्तर प्रदेश कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्ने विषयमा सहकार्य जरुरी रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिको रक्षा गर्दै आत्मनिर्भर, समुन्नत प्रदेश तथा सम्मानित प्रदेशवासी बनाउन हाम्रा अगाडी देखिएका जटिलतालाई सहजीकरण गर्ने उद्देश्यले अन्तर प्रदेश मुख्यमन्त्रीको बैठक आयोजना गरिएको हो ।”
मुख्यमन्त्री पाण्डेले अन्तर प्रदेश मुख्यमन्त्री बैठकमार्फत सातै प्रदेशबीच अनुभव आदान प्रदान गर्ने, सबल पक्षलाई थप मजबुत बनाउँदै संस्थागत गर्न र दुर्बल पक्षहरूलाई न्यूनीकरण गर्दै प्रदेश थप प्रभावकारी बनाउने उद्देश्य राखिएको बताउनुभयो ।
राज्यसत्ताको अधिकारको प्रयोग राज्यका बहु सरकारहरूबीच विनियोजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया सङ्घीयताको मूल आदर्श भएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री पाण्डेले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारहरू बीचको उच्चतम समन्वय, सहकार्य र अन्तर सम्बन्धले मात्रै आफूहरूले अपेक्षा गरेको समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । अन्तर सम्बन्धले सुशासन, विकास र समृद्धि प्राप्तिमा तीनै तहका सरकारहरूको साझा प्रयास परिचालनको उहाँले माग समेत गर्नुभयो ।
शनिबारसम्म पोखरामा चल्ने मुख्यमन्त्रीहरूको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, कणाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह उक्त बैठकमा सहभागी हुनुभएको गण्डकीका मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्