तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रथम प्रदेश युवा सम्मेलन–२०८० सुरु भएको छ ।

प्रदेश युवा परिषद्को आयोजनामा भएको सम्मेलनको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री मोक्तानले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवाका समस्या समाधानका उपाय खोजी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रदेश सरकारले युवा परिषद् र खेलकुद विकास परिषद् गाभ्ने प्रयास गरिरहेको भन्दै युवालाई सचेत हुन आग्रह गर्नुभयो । उहाँले युवालाई प्रदेश सरकारको काम कारबाहीका बारेमा सघन निगरानी गर्न पनि आग्रह गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले प्रथम प्रदेश युवा सम्मेलन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउन, नवप्रवर्तन र उद्यमशीलतामा विकसित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।

भोलिसम्म चल्ने सम्मेलनमा युवासम्बन्धी विभिन्न ५ विषयमा केन्द्रित रहेर समूह छलफल हुनेछ ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवा सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button