तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा नीति सार्वजनिक गर्न माग

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वयन समितिले राष्ट्रिय सुरक्षा नीतिका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेको छ ।

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा पूर्व रक्षासचिव खेमराज रेग्मीले नेपालको प्रशासन संयन्त्र कमजोर हुँदा भ्रष्टाचार मौलाएको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी पूर्व सचिव एवं राष्ट्रिय सुरक्षा विज्ञ बामनप्रसाद न्यौपानेले पछिल्लो समय राजनीतिक अपराध बढेको बताउनुभयो । उहाँले अन्तरदेशीय अपराध न्यूनीकरण गर्न छिमेकी मुलुकहरूसँग समन्वय गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

त्यसैगरी सुरक्षा विज्ञ केशरबहादुर भण्डारीले राष्ट्रिय सुरक्षा नीतिमा अपराधको वर्गीकरण गर्नुपर्ने, सुरक्षा परिषद्लाई शक्तिशाली बनाएर दायर वृद्धि गर्नुपर्ने, अपुरो सुरक्षा नीतिलाई परिमार्जन गरी तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहले सुरक्षा निकायबीच समन्वय हुन नसकेको बताउनुभयो ।

त्यस्तै सुरक्षा विज्ञ एवं पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले अपराध गर्नेलाई कानूनी दायरामा ल्याउन सुरक्षा निकायलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले मुलुकको आन्तरिक सुरक्षा कमजोर भएको मौका छोपेर बाह्य मुलुकले फाइदा लिने गरेको बताउनुभयो ।

बैठकमा सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न ढिला भएको बताउनुभयो ।

बैठकमा सांसदहरुले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरूको महत्वपूर्ण भूमिका भएकाले स्वतन्त्र रुपमा अनुसन्धान गरी अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button