तपाईँ सुन्दै हुनुहुन्छः

आप्रवासी स्रोत केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु

भोजपुर । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि सञ्चालित आप्रवासी स्रोत केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । 

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) इटहरीले आइतबार जिल्लामा कार्यक्रमको आयोजना गर्दै भोजपुरमा सञ्चालन हुँदै आएको आप्रवासी स्रोत केन्द्र भोजपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । 

केन्द्रमार्फत सञ्चालन हुने गतिविधिहरू अव नगरमार्फत सञ्चालन हुने छन् । 

उद्योग मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेलाई विवरण सहितको हस्ताक्षर पत्र हस्तान्तरण गर्नुभयो । 

सो क्रममा सचिव डा.ज्ञवालीले वैदेशिक रोजगारीमा जानेहरूको सहजीकरणका लागि स्थापित केन्द्र पालिका स्तरबाट सञ्चालन हुँदा थप प्रभावकारी हुने बताउनुभयो । 

वैदेशिक रोजगारीमा जाने कामदारहरूबाट आएको रेमिटन्यान्सले विकास निर्माण कार्य अघि बढेको उल्लेख गर्नुहुँदै सचिव ज्ञवालीले समृद्धि आयोजनाले कृषिका साथै उत्पादनमा समेत जोड दिएको बताउनुभयो । 

यस्तै भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले नीति बलियो नहुँदा कतिपय अनुदानका कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्न नसकेको बताउनुभयो । अनुदानमा सञ्चालित कार्यक्रमबाट आउने परिणाम उत्कृष्ट हुन नसकेको भन्दै नीतिका कारण टाठा बाठाले अनुदान लिइरहेको उहाँले बताउनुभयो । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आप्रवासी स्रोत केन्द्रले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुहुँदै केन्द्रसँग समन्वयका गर्दै यसलाई प्रशासन कार्यालयमा राखेर वैदेशिक रोजगारी सम्बन्धी परामर्श लगायतका सेवा सञ्चालनका लागि आफु लागिपरेको बताउनुभयो ।  

कार्यक्रममा आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँ, सन्तोष कुमार वैद्य, लोकेन्द्र बहादुर रावल, जीवन श्रेष्ठ लगायतले कार्यक्रमले गर्दे आएको र खेलेको भूमिकाका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो । 

आप्रवासी स्रोत केन्द्र भोजपुरका सूचना अधिकृत खगेन्द्र खडकाले भोजपुरमा सञ्चालित कार्यक्रमको उपलब्धीका बारेमा उल्लेख गर्नुहुँदै हालसम्म वैदेशिक रोजगारी सम्बन्धी विषयमा दुई हजार छ सय ९० जना महिला र छ हजार छ सय ७१ पुरुष गरी कुल नौ हजार तीन सय ६५ जनालाई परामर्श सेवा दिएको बताउनुभयो । 

जिल्लाबाट वैदेशिक रोजगारीमा जान नौ पालिका मध्ये बढी षडानन्द नगरपालिकाबाट एक हजार छ सय ९६ जना र भोजपुर नगरपालिकाबाट एक हजार चार सय ९६ जना रहेको उहाँले बतउनुभयो  । 

जिल्ला प्रशासन कार्यालय रहेको भोजपुर र इलाका प्रशासन कार्यालय रहेको षडानन्द नगरपालिकामा केन्द्रले आफ्नो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button