चितवनमा ३ हजार बढी पशुमा लम्पीस्किन संक्रमण
चितवन । देशभर लम्पीस्किनका कारण पशु बिरामी भइरहेका बेला चितवनमा पनि यसको असर बढ्दै गएको पाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार हाल जेठको तेस्रो सातासम्म ३ हजार ८६ गाई र २५२ भैँसी गरी ३ हजार ४ सय १८ गाईभैसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ भने ८४ गाईभैसी यस रोगको कारण मरेका छन् ।
जिल्लाका ७ वटै पालिकामा लम्पीस्किन फैलिएको अस्पतालका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो । लम्पीस्किनको सङ्क्रमणबाट चितवनका सात पालिका मध्ये राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उहाँले बताउनुभयो ।
राप्ती नगरपालिकामा १ हजार ४०५, कालिका नगरपालिकामा २६५, खैरहनी नगरपालिकामा २०४, भरतपुर महानगरपालिकामा २२५, रत्ननगर नगरपालिकामा ११४, इच्छाकामना गाउँपालिका ९५२, माडी नगरपालिकामा २५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको हो ।
अन्य पालिका भन्दा खैरहनी नगरपालिकामा भने कम सङ्ख्या पशुमा सङ्क्रमण देखिएको छ । लम्पीस्कीनबाट ८४ वटा गाईभैसी मरेको केसीले बताउनुभयो ।
जस अनुसार इच्छाकामना गाउँपालिकामा ४९ वटा, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा ४÷४ वटा गाईभैसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका थिए ।
लम्पीस्किन भाइरल रोग भएको र झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाठाँगुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने अस्पतालका अधिकृत डा. रशिन पाण्डेले जानकारी दिनुभयो ।
सङ्क्रमण फैलिन नदिन गोठ वरिपरि सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाउने जस्ता काम गर्नुपर्ने उहाँको भनाई छ ।
यस रोगको रोकथाम र न्यूनीकरणको लागि पशु सेवा विज्ञ केन्द्र चितवनले ७ वटै पालिकामा जैविक सुरक्षा सम्बन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको छ ।
चितवनमा यो रोग २०७७ साल असारको पहिलो हप्ता खैरहनी नगरपालिकामा पहिलो पटक देखिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्