तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा रात्रि बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते 

दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ भने १३ जना घाइते भएका छन् । दाङको लमही ३ फल्कापुरमा भएको सवारी दुर्घटनामा परी रोल्पा रुन्टीगढी ७ निवासी ४३ वर्षीया शोभा परियारको निधन भएको हो ।

फल्कापुरमा जिल्ला प्रहरी कार्यालय दाङका अनुसार काठमाडौँदेखि पश्चिमतिर आउँदै गरेको ना ५ ख ४८९८ रात्रि बस र लमहीबाट भालुबाङतिर जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस एकापसमा ठोक्किँदा रोल्पाकी परियारको घटनास्थलमै निधन भएको हो । मृतक परियारको शव लमही अस्पतालको शव गृहमा राखिएको छ ।

अन्य घाइतेहरूको केहीको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूको थप उपचारका लागि भैरहवा र बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भैरहवा रिफर हुनेहरूमा रोल्पा रुन्टीगढी ४ निवासी बर्ष ९ का किरण बिक, रुन्टीगढी ७ निवासी बर्ष २० की लक्ष्मी थापा, लक्ष्मीका एक महिनाका छोरा, सोही निवासी निमा थापा र लमही ९ च्याउ खोला निवासी बर्ष २५ का तुलसीराम रमियालको उपचारका लागि रिफर गरिएको छ ।  

यस्तै लमही अस्पतालमा रुन्टीगढी ७ निवासी बर्ष २० की मीना पुन, रुन्टीगढी ४ निवासी बर्ष ८ का विवेक नेपाली, सोही निवासी पूर्ण बिक, सोही निवासी बर्ष १६ का तिलक नेपाली, तुलसीपुर ५ निवासी बर्ष २५ का पर्शुराम थापा र सर्लाही जिल्ला सर्लाही नगरपालिका ३ निवासी बर्ष ४५ का रात्रीबसका सहचालक पप्पु खाँनको उपचार भइरहेको छ ।

त्यसैगरी राप्ती गाउँपालिका ६ पथ्थरगढवा निवासी बर्ष २२ का सिम्रन चौधरीको बुटवल उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभएको छ । सवारी साधन वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button