तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचनामा हटाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना आज डोजर चलाएर हटाइएको छ । 

सार्वजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना महानगरको टोलीले हटाएको हो । 

डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ । यस्तै, अलौ पोखरीको पूर्व पट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ । 

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्यअघि बढ्ने बीरगज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले बताउनुभयो । महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान सञ्चालन गरि रहेको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुग्नुभएको थियो । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो । 

अतिक्रमण हटाउन महानगर प्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button