तपाईँ सुन्दै हुनुहुन्छः

पोखरे दुम्सीका जोड्ने सडक कालोपत्रेको काम सुरु 

भोजपुर । भोजपुर जिल्ला अस्पताल हँुदै पोखरे दुम्सीका जोड्ने सडकमा कालोपत्रेको काम सुरु गरिएको छ । 

भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आइतबार सडकको शिलान्यास गर्नुभएसँगै सडक कालोपत्रेको काम सुरु भएको हो । 

नेपाल सरकार सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा अन्तर्गत तेज कन्स्ट्रक्सनले सडकमा कालोपत्रेको काम सुरु गरेको छ । करिब ६ किलोमिटर सडक अन्तर्गत अहिले दुई किलोमिटर सडक कालोपत्रे हुने छ । सडकको चौडाई ८ मिटरको हुने छ । सडकको ट्रयाक खोलिएको लामो समय भई सक्दा समेत बजेट अभावका कारण सडकको स्तरोन्नति हुन सकेको थिएन । 

तेज कन्स्ट्रक्सनका प्रतिनिधि आशिष तामाङले १६ महिना भित्रमा सडक कालोपत्रेको कार्य तोकिएकाले सोही समय भित्रमा कार्य सम्पन्न गरिने बताउनुभयो । ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले भ्याट बाहेक १३ करोड ७६ लाख ८१ हजार ४ सय ४२ रुपैयाँमा दुई वटा सडक र स्थानीय टुँडिखेलमा सटर निर्माण गर्ने छन् ।

शिलान्यासमा कार्यक्रम नगर प्रमुख कैलाश कुमार आलेले तोकिएको मापदण्ड अनुसार सडक निर्माण हुने भएकाले गुणस्तरीयतामा पनि ध्यान दिन निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । 

भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानले वडाभित्रका बासिन्दाले सडक कालोपत्रे भएपछि यात्रामा सहजता पाउने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button