तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा आगलागी हुँदा ४ घर जले, दुई जना घाइते

पाल्पा । पाल्पाको रामपुर–९, मधुकोटमा आगलागीबाट ४ वटा घरहरू पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा दल बहादुर साठिघरे र लक्ष्मी साठीघरे रहेको रामपुर–९ का अध्यक्ष डिलबहादुर रानाले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उनीहरू घाइते भएको र उनीहरूको अनुहार, हातखुट्टामा आगोले असर गरेको छ ।

हिजोदेखि भएको आगो बस्तीतर्फ सल्कँदा ४ वटा घर पूर्ण रूपमा जलेर खरानी बनेको छ । भने एउटा घर आंशिक रुपमा क्षति भएको छ । आगलागीबाट ५ गाई गोठ र ४ वटा कटेरा जलेको वडा अध्यक्ष रानाले बताउनुभयो ।  

आगो हिजो दिउँसो करिब १ः३० बजे तिर जङ्गलबाट बस्ती तर्फ पसेको स्थानीयले बताएका छन् । आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ । अहिले नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा बस्तीको आगो नियन्त्रण आएको छ । 

आगलागीबाट बिस्थापितहरुलाई तत्कालका लागि स्थानीय सिद्ध प्राथमिक विद्यालयमा बस्ने व्यवस्था गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button