संस्कार र सम्भावनायुक्त उपल्लो कर्णाली
बाजुरा । यही वैशाखको पहिलो साता सम्पन्न माथिल्लो कर्णाली जलपर्यटन महोत्सवले कर्णालीमा के छ ? हैन, कर्णालीमा के छैन भन्ने कुराको उजागर गरिदिएको छ । कला, गला, परम्परागत पहिरन, भेषभुषा र संस्कार सिक्न एक पटक माथिल्लो कर्णाली पुग्नै पर्छ भन्ने सन्देश अप्पर कर्णाली क्षेत्रले दिएको छ । माथिल्लो कर्णाली अन्तरगत अझ बाजुराका हिमाली र स्वामिकार्तिक गाउँपालिकाका नागरिकले आफ्नो मौलिकता र पहिचानलाई संरक्षण गर्दै सजाई राखेका छन् ।
प्राकृतिक रुपमा अपार जल सम्पदा सलल बग्ने कर्णाली र कर्णालीको तिरमा मानोसरोवरको अलौकिक देव भूमि पादुका क्षेत्र यहाँका विराट सम्पदा हुन् । साबिकको जुकोट र छिमेकी जिल्ला मुगुको खत्याडमा फल्ने स्याउ अनि हिमाली गाउँपालिकाको रानिसैन पाटन र त्यहाँका विशाल हिमशृङखला, जल, जङ्गल जडीबुटी र पशुपक्षीले उपल्लो कर्णाली क्षेत्रमा के कमी छ भन्ने प्रस्ट्याएको छ । बाजुराको समग्र भूगोलको २७ प्रतिशत अर्थात् एक चौथाइ बढी भूभाग हिमाली त्यो पनि रानीसैन क्षेत्र त्यहाँको जडिबुट्टी बन पैदावारको संरक्षण गर्न सके मात्र बाजुरेलीको जीवन स्तरमा कायापलट हुनेछ ।
उपल्लो कर्णालीको भूगोल हेर्दा सुख्खा जस्तो लाग्छ । तर त्यहाँको हरेक मौलिकता भेषभुषा अझ सलल बग्ने निश्चल कर्णालीको जलयात्रा, रसिला स्याउ र जडीबुटीको सुगन्ध स्पर्श गर्दा कर्णालीमा दुःख चित्कार हैन । अनगिन्ती सम्भावना देखिन्छन् । यही वैशाख पहिलो साता देखि झुगला बेलिब्रिज सञ्चालनमा आएपछि कर्णाली करीडोर मानव समुदायको लाइफलाइनसँग जोडिएको छ। कर्णाली करिडोरले कर्णाली, रारा, रानीसैनको साइनोमा नवीनता ल्याएको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्नुहुन्छ “प्रचुर सम्भावना बोकेको उपल्लो कर्णाली क्षेत्र देश विदेशलाई चिनाउनकै लागि जनपर्यटक महोत्सवको आयोजना गरेका हौँ ।” सांस्कृतिक कार्यक्रम थलो धुलाचौर मञ्चबाट अध्यक्ष मल्लले भन्नुभयो “हामीले विगत देखि बाहिरका धेरै चिज माग्यौँ, खायौँ, लगायौँ, र अनुसरण पनि गर्यौँ । हामीले बाह्य आयातितमा रमाउँदै गर्दा हाम्रा ठिटुवा हराया, उनी, पाखी, लिउ, फेर्या, हराया , गोठका गोरु हराया, वनको केतुकी, कपास, खेतको अनाज हरायो, लेकको जडीबुटी हरायो । हराएको चिज फर्काउन र देश विदेशमा चिनाउनकै लागि महोत्सवको आयोजना गरेका हौँ । हाम्रा संस्कृति (फाग, मजुरो, चम्पा, भोटेसेलो, हुड्के नाच र लोक डेउडा गीतका गाथा , बिनाया र पञ्चेबाजा देखाउँछौँ । अनि हाम्रो खाना, नाना देखाउँछौँ हाम्रो चलन बाहिर देखाइदिनु होला । अध्यक्ष मल्लको मार्मिक भनाइमा सिङ्गो कर्णालीको भेषभुषा रहन सहन र लवाई खवाई लुकेको थियो । अब हाम्रो संस्कारले हामीलाई चिनाउने छ । हाम्रो सम्पदाले हामीलाई बनाउने छ । त्यसैले यहाँका सम्भावना देशमा पुर्याइदिने उहाँको कथन थियो ।
छिमेकी जिल्ला मुगुमा अवस्थित स्वर्गकी अप्सरा उमाले प्रख्यात रारा पादुका मानोसरोवर एक अलौकिक प्राकृतिक सम्पदा हुन् । त्यसैले कर्णालीमा सबै चिज छ ।तर कस्तुरीले आफ्नै शरीरको विना नचिने झैँ हामी सुनको महलमा छौँ तरपनि जस्ता पाता मागी रहेका छौँ । त्यसैले कर्णाली जल पर्यटन महोत्सव हामीले हामीलाई चिनाउनका लागि अपरिहार्य थियो । खसभाषाको उद्यगम स्थल सिंजा क्षेत्र त्यसको आसपासमा बोलिने झर्रा नेपाली कर्णाली नदीको धार्मिक ऐतिहासिक महिमा वर्णन गरि नसक्नु छ। त्यसैले पनि माथिल्लो कर्णालीलाई चिनाउनुपर्छ स्थानीय वासिन्दा एवं प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस सह-महामन्त्री बद्रीप्रसाद पाण्डेको उद्घोष थियो ।
त्यस्तै कर्णालीका विकास सम्भावनाका सबै ढोका खुलेका र अहिले नगरे कहिले गर्ने सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री एवं स्थानीय वासिन्दा नरेश शाहीको कथन थियो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले “उपल्लो कर्णाली महोत्सवलाई धर्ती मोहका संज्ञा दिनुभएको छ । माथिल्लो कर्णाली विश्वकै उन्नत ठाउँ हो । माथिल्लो कर्णाली जलपर्यटन महोत्सवले पर्यटन प्रर्बद्धनमा एक इट्टा थप्न सफल भएको छ । बाजुरा सम्भावनाको खानी रहेछ उहाँको भनाइले पनि बाजुरामा सबै चिज छ तर तर आफूले आफूलाई नचिनेको र राज्यले गरेको सौतेनी व्यवहारले सिङ्गो कर्णाली क्षेत्र पछाडि परेको अवस्था हो भन्ने बुझिन्छ ।
नेकपा एकीकृत समाजवादीका बाजुरा अध्यक्ष पुरबहादुर रावतले बाजुराली हुनुको परिचय, भाषा, साहित्य, कला संस्कृति र सभ्यताले दिने कुरामा समर्थन हो, भने, सबैका पहिरन र पहिचानका विषय पनि स्थानीय नै हुनु पर्छ, भन्ने कुरामा महोत्सवमा जोड दिँदा स्थानीय नागरिकले वडा, टोलको प्रतिनिधि हुने गरि गरिएको प्रस्तुतिमा त्यही झल्को आउने गरि प्रस्तुत गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य बद्री पाण्डे, प्रदेश मन्त्री नरेश कुमार शाही, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष, चन्द्रप्रसाद रिजाल, जल विज्ञ, कृषि विज्ञ, शिक्षाविद् सबै क्षेत्रको सहभागी थियो । विकास र सम्भावनाका लागि स्वामिकार्तिक खापर गाउँपालिका स्वीज्युलामा गरिएको विकास बहस पनि सार्थक लाग्ने र अर्थपूर्ण नै थियो । कर्णालीमा गरिएको र्याफ्टीङ देशकै नमुना हुने जलिविज्ञले बताएका छन् । र्याफ्टीङ झनै लोभ लाग्दो र माथिल्लो कर्णाली क्षेत्रको पर्यटन विकासको आधार स्तम्भका रुपमा लिन सकिन्छ ।
प्रायजसो लाग्ने मेला महोत्सवले बाह्य आयातित कला संस्कृति टुनामुना देखाएर मान्छेलाई प्रफुल्लित पार्छन् । मेला भर्न टिकट कटाउँछन् । तर, माथिल्लो कर्णाली जल पर्यटन महोत्सवले एक रुपैंया टिकट कटाएन बरु आफ्नै स्थानीय साधान श्रोतले बाह्य पाहुनालाई प्रफुल्ल पारेको थियो ।
माथिल्लो कर्णाली कथा र व्यथाले भरिएको क्षेत्र हो । भोक, अभाव र गरिबीले थलिएको क्षेत्र हो । शहरका बौद्धिक भनिएका वर्गले बुझ्ने परिभाषा यही हो । वास्तविकता नबुझेका र बुझ्न नखोजेकाहरूका लागि समस्या र कर्णाली भेग पर्यायवाची नै हुन् ।
कर्णालीसँग यी मात्रै छन्, भन्ने कुरा बाहिर देखाइएका र बौद्धिक वर्गले बेच्न बनाइएका तस्वीर मात्रै हुन् । कर्णाली समस्याले मात्रै भरिएको छैन, सम्भावनाले पनि भरिपूर्ण छ । भव्य अनि विशाल छ । यो सन्देश र सूचना कमैले मात्रै थाह पाएका छन् । सबैलाई थाह पाउने अवस्था नै निर्माण सकारात्मक सुरुवात नै हो, माथिल्लो कर्णाली जल महोत्सव ।
समग्रमा भन्दा नारा र नाम जे राखिए पनि कर्णाली जल महोत्सवले कर्णाली सभ्यताको संरक्षण, खस भाषा उद्गम भूमिको चिनारी, कर्णालीमा जल पर्यटनको सम्भावना र सुदूरपश्चिमकै सुदूरमा पर्ने क्षेत्रको विकास समृद्धिको यात्रा प्रारम्भको अभ्यास थालनी गरेको छ । माथिल्लो कर्णालीको हरेक क्षेत्रमा देखिएका परम्परागत संस्कार भाषा शैली र जल ,जमिन र जडिबुटीले भरिपूर्ण सम्भावनै अचुक सम्भावनाको खानी हो माथिल्लो कर्णाली ।
प्रतिक्रिया राख्नुहोस्