तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा साइकल रन प्रतियोगिताको उपाधि मगरलाई

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको हेटौँडा साइकल रन प्रतियोगिता–२०८० को उपाधि पूजन मगरले जितेका छन् ।

शनिबार बिहान भएको प्रतियोगितामा ३८ मिनेट १९.३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै मगरले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका हुन् ।

३७ मिनेट १४ सेकेन्डमा दुरी पार गरेका राजीव ठाकुर मकवानपुर जिल्ला बाहिरको भएपछि स्थानीयवासी मगरलाई स्वतः प्रथम घोषणा गरिएको थियो ।

यस्तै ३८ मिनेट १९.७७ सेकेन्डमा दुरी पार गर्दै आशिष थापा मगर द्वितीय र ३९ मिनेट ३८.२३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीय भएकाले क्रमशः ३० हजार र २० हजार रुपैयाँ तथा सान्त्वना भएका प्रदीप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, हटिया र कमाने हुँदै पुनः हुप्रचौरमा आएर प्रतियोगिता समापन भएको थियो । प्रतियोगितामा ५० जनाको सहभागिता रहेको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौँडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button