दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दिगो विकास कार्यान्वयन सम्बन्धमा विराटनगरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकारले वार्षिक नीति तथा बजेट सम्बन्धित कार्यक्रम तथा सोही अनुसार कानुन निर्माण गरेर अघि बढिरहेको बताउनुभयो ।
बाँकी सात वर्षको अवधिमा दिगो विकास हासिल गर्ने सरकारको लक्ष्य रहेकाले सरकारले लिएको दायित्व प्रदेश सरकारले पुरा गर्दै जाने उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य हासिल गर्न दायित्व प्रदेश सरकारको पनि रहेकाले दायित्व अनुसार सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
उहाँले शिक्षा, स्वास्थ्य सुशासन खानेपानी खाद्य सुरक्षा विकास पूर्वाधार तथा गरिबी निवारणजस्ता विषयलाई प्राथमिकता दिएर योजनाहरू कार्यान्वयन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद दिगो विकास सुझाव समितिका सभापति प्रकाश पन्तले सन २०३० सम्ममा नेपालमा दिगो विकास हासिल गर्ने लक्ष्य सरकारको रहेकाले त्यो लक्ष्य पुरा गर्न प्रदेश र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
संघीय सांसद सचिवालयका सचिव रोजनाथ पाण्डेले दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था अध्ययन तथा मूल्याङ्कन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरीले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकाका मन्त्री, मन्त्रालयका सचिव सरकारी कार्यालय योजना शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्