तपाईँ सुन्दै हुनुहुन्छः

बलिउड चलचित्रमा नेपाली अभिनेता

काठमाडौं । लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिनुभएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गर्नुभएको छ । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कबिर सिंह’ निर्देशन गरेर स्थापित हुनुभएका निर्देशक सन्दीप रेड्डी भाङ्गाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उहाँले बताउनुभयो ।

“झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ”, अभिनेता धमलाले भन्नुभयो, “म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।” नेपाली चलचित्र ‘सरौतो’ पश्चात् नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा पर्नुभएका अभिनेता धमलाले बेलायत बस्नुहुने भएकाले धेरै काम गर्न सक्नुभएको छैन ।

उहाँले बेलायतको तालिममा सहभागी भएर अभिनय गर्नुभएको हो । लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टङ्कले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसक्नुभएको छ ।

चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ति डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गर्नुभएको छ । ‘एनिमल’ बाहेक उहाँले बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको ‘हनी बनी’ मा समेत अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button