तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा सारस संरक्षण परियोजना सुरु

रुपन्देही । दुर्लभ पक्षी सारस क्रेनको प्रमुख बासस्थान मानिएको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा यो पक्षीको संरक्षणका लागि एक परियोजना  सुरु गरिएको छ । १० दिनसम्म सञ्चालन हुने उक्त परियोजना  बुधबारदेखि सुरु भएको हो । 

संरक्षित पक्षी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्याङ्क यकिन गर्ने, यसको बासस्थानको अवस्था र भोग्दै आएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरको अवस्था पत्ता लगाउने तथा मानव र यो पक्षीको सम्बन्धको बारेमा वैज्ञानिक जानकारी सङ्कलन गर्ने परियोजनाको उद्देश्य रहेको नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा. हरि शर्माले बताउनुभयो । स्थानीय मानिसलाई यसबारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवर्द्धन गर्न जोड्न सकिने उहाँको भनाइ थियो ।  नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणिशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष,इन्टरनेशनल क्रेन फाउन्डेसन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा आयोजित उक्त परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा पुर्‍याउने आयोजकले विश्वास लिएका छन् ।

बुधवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन बोर्डका कार्यकारी निर्देशक रामु जैशीले दुर्लभ पक्षी सारसलाई पर्यापर्यटनसँग जोड्दै वन्यजन्तु र संस्कृतिसमेतको पर्यटन मोडल बन्न सक्ने धारणा राख्नुभयो । डा. हेम कटुवालले नेपालमा सारसको अवस्था, चुनौतीबारे प्रस्तुतीकरण  दिनु भयो भने विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले नेपालमा सारसको अवस्था, विकास र सांस्कृतिक महत्त्वका साथै दिगो पर्यापर्यटनको बारेमा जानकारी दिनुभयो ।

ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सारसको महत्त्व र यसको संरक्षणमा स्थानीयको भूमिकाका बारेमा प्रस्तुतीकरण गर्नुभयो । नेपाल जोलोजिकल सोसाइटीका डा. विष्णु भट्टराई र सन्दीप रेग्मीले सारसको तथ्याङ्क सङ्कलनमा प्रयोग गरिने प्रविधि र ग्रिडको विषयमा सहभागी तथा अनुसन्धानकर्ताहरूलाई जानकारी दिनुभयो । सारस क्रेनको विस्तृत अध्ययन गरिने सो परियोजनामा १८ वटा समूहमा विभक्त भई ४० जना जानकार प्राविधिक तथा विज्ञहरुको  सहभागिता रहने सोसाइटीका केशव महतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button