‘मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी’
विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनुभएको छ ।
विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भन्नुभयो, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।”

नेता कोइरालाले आर्थिक रूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समेत चर्चा गर्दै ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने जोड दिनुभयो ।
कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री केदार कार्कीले पुस्तान्तरण भए मात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका पूर्वप्रमुख एवं प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकले सन्तान र आफन्तबाटै अपहेलित हुनुपरेको गुनासो पोख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्