तपाईँ सुन्दै हुनुहुन्छः

‘उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्काल पहल सुरु गर्छु’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा वर्तमान समयमा अघोषित लोडसेडिङको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित कोशी प्रदेशका उद्योग सङ्घ सङ्गठनका प्रतिनिधिहरूसँगको छलफल कार्यक्रममा उहाँले सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका निर्देशकसँग तत्कालै कुरा गर्ने उल्लेख गर्नुभयो ।

उहाँले उद्यमीहरूले लिएको ऋणको ब्याजदर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरूको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाउनुभयो ।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधीन पूर्वाधारहरूलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्नुपर्ने वा लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

होटल सङ्घ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागमन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले राज्यबाट उद्यमीहरूले कुनै सहयोग नपाएका कारण युवाहरू उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, सङ्घका पूर्व अध्यक्ष द्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्री लगायतले बैंकले निक्षेपमा ब्याज घटाए अनुसार ऋणमा घटाउनुपर्ने, भन्सार मूल्याङ्कन समायोजन गरी सीमा क्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button