तपाईँ सुन्दै हुनुहुन्छः

‘उपनिर्वाचनको परिणामले काँग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणाम स्वीकारेर काँग्रेस सच्चिन जरुरी रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो ।

उहाँले युवाको भावनाअनुसार काँग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गर्नुभयो ।

उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ भन्नुहुँदै अब युवाहरूलाई अवसर दिएर जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म सङ्गठनलाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेता कोइरालाले उपनिर्वाचनको मत परिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताउँदै हारको दोष एक जनामाथि थोपरेर अरू उम्किने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक रुपमा नेपाल अहिले नै श्रीलङ्काको बाटोमा नगएको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button