असिनासहितको वर्षाबाट साँढे ६ करोड बढीको क्षति
झापा । झापामा चैतको तेस्रो साता आएको असिनासहितको वर्षाले कृषि बालीमा साँढे ६ करोड बढीको क्षति भएको छ ।
गत चैत १७ गते आएको असिनासहितको वर्षाले जिल्लाका पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषि बाली (मकै र तरकारी) मा रू छ करोड ५१ लाख ९० हजार ६१५ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

असिनासहितको वर्षाले झापाको कनकाई र बिर्तामोडमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुईजना कृषकले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ रुपैयाँ क्षति भएको छ भने विर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना कृषकले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
त्यस्तै, हल्दिवारी गाउँपालिकाको एउटा वडाका ४० जना कृषकको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वडाका २ जना कृषकको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुईवटा वडामा ९४ जना कृषकले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुगेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्