तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि अन्तिम  सुनुवाई गर्ने भएको छ । 

अदालतले न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सनुवाई गर्न पेशी तोकेको छ । यसअघि, चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न  आदेश दिएको थियो ।

सर्वोच्च अदालतले गत फागुन १५ गते सन्दीपविरुद्धको मुद्दा द्रुतमार्गबाट किनारा लगाउन दिएको आदेशपछि अन्तिम सुनुवाइ हुन लागेको हो । 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध  भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा एक किशोरीको  जाहेरी परेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका सन्दीप असोज २० गते नेपाल फर्किँदै गर्दा सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका सन्दीपलाई उच्च अदालतले पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button