तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ-बुटवल सडक खण्ड डेढ बर्षमै सक्ने दाबी

नवलपरासी । राष्ट्रिय गौरवको आयोजना नारायणगढ-बुटवल सडक खण्डको काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले दाबी गरेको छ । चाइना स्टेट कम्पनीले अहिलेको गतिमा नै काम हुने वातावरण भएमा र समय थप भएमा आगामी डेढ वर्ष भित्रमा काम सम्पन्न गर्ने दाबी गरेको हो।

यस क्षेत्रका सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा भएका ठूला आयोजनाको कामको प्रगति र सरकारले गन्नुपर्ने कामका विषयमा स्थलगत अनुगमन गरेर छलफल गर्ने क्रममा चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले यस्तो बताउनुभयो।होयुले स्थानीय सरकार र जनप्रतिनिधिले कच्चा पदार्थको उपलब्धतामा सहजीकरण गरिदिन अनुरोध गरेका थिए।

सांसद चौधरीले निमार्णले गति लिन नसकेका आयोजना हुलाकी सडक र बुटवल नारायणगढ सडक, प्रधानमन्त्री कृषि आधुनिकीकरण, गण्डक सिँचाइ कार्यालयका प्रतिनिधिलाई काममा परेका समस्या र आफूले गर्नुपर्ने पहलका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सबै स्थानीय तहका प्रमुखहरुले विकास निर्माणका निम्ति स्थानीय तहले खेल्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता जनाएका थिए।

स्थानीय जनप्रतिनिधि र सांसद चौधरीले जनताले प्रत्यक्ष रुपमा विकास निमार्णको काम अगाडि बढ्न नसकेको गुनासो बढेकाले तोकिएकै समयमा काम गर्न निर्देशन दिनुभएको थियो । ‘के कारणले काम समयमा नै नभएको हो । त्यो स्पष्ट खुलाउनुपर्‍यो !देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको नारायणगढ बुटवल र हुलाकी सडकको काम वर्षौंदेखि किन सोचे अनुसार हुन सकेको छैन ?’ सांसद चौधरीले भने, ‘ स्पष्ट कारण खुलाउनु पर्‍यो, मेरो तर्फबाट के हुनसक्छ भन्नुपर्‍यो । होइन भने जनतालाई सास्ती दिने काम हुनु हुँदैन ।’हरेक अधुरा कामलाई पूर्णता दिइनु पहिलो प्राथमिकता भएको चौधरीको भनाई छ।बाटोको काम ढिलाइ हुँदा धेरै विकास निर्माणका काममा असले असर पुर्‍याएको उहाँको भनाई थियो ।

आयोजना प्रमुखहरुले भने कर्मचारी अभाव, स्रोतको सुनिश्चितता र विभिन्न बहानामा हुने अवरोध नै मुख्य चुनौती रहेको भन्दै सहजिकरणका लागि आग्रह गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख रुदल यादवको अध्यक्षतामा भएको छलफलमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुख र जिल्लामा सञ्चालित ठूला आयोजनाका प्रतिनिधिको सहभागिता थियो । नारायणगढ बुटवल सडक खण्डको काम सुरु भएको पाँच वर्ष हुन लाग्दा ३० प्रतिशत मात्र काम सकिएको छ ।पछिल्लो ५ महिनामा १० % काम भएको कम्पनी बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button