कम्युनिष्ट पार्टीहरूका बीचमा एकता आवश्यक : वरिष्ठ नेता खनाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा समाजवादको वास्तविक लक्ष्य हासिल गर्नका लागि कम्युनिष्ट पार्टीहरूका बीचमा एकता आवश्यक भएको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको कम्युनिष्ट पार्टीको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका वरिष्ठ नेता खनालले आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुलुकमा समाजवाद लागु नभएसम्म शान्ति, स्थिरता, विकास, समृद्धि तथा आम जनताको जनजीविकाका विषयहरूको सम्बोधन गर्न कठिन हुने बताउनुभयो ।
उहाँले आफूहरूको पार्टी जनविद्रोहबाट स्थापित भएको पार्टी भएकाले पहिलो महाधिवेशनसम्म कुनै कम्युनिष्ट पार्टीसँग एकीकरण सम्भव नभएको उल्लेख गर्नुहुँदै कार्यगत एकता भने हुनसक्ने बताउनुभयो ।
वरिष्ठ नेता खनालले कुनै जीवन्त पार्टीमा पार्टीभित्र नीति, सिद्धान्त तथा अन्य विषयमा बहस हुनु स्वभाविक भएको उल्लेख गर्नुहुँदै यसले पार्टी कमजोर वा विभाजन हुन्छ भन्नु गलत भएको बताउनुभयो ।
उहाँले मुलुकमा स्थायी संविधान बने पनि आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरण अझै बाँकी रहेको उल्लेख गर्नुहुँदै त्यसमा सरकारले सफलतापूर्वक काम गरेको खण्डमा सरकार स्वतः सफल हुने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालले अहिलेसम्म सरकारले पूर्णता नपाए पनि नवौँ पटकको मन्त्रिपरिषद् विस्तारपछि सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुहुँदै सरकारले देश र जनतालाई परिवर्तन गर्ने गरि काम गर्नुपर्दछ भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्