तपाईँ सुन्दै हुनुहुन्छः

नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा सम्पन्न

भक्तपुर ।भक्तपुरको प्रसिद्ध बिस्केट(बिस्का) जात्राको अन्तिम दिन गए राति भैरव र भद्रकालीको रथ तानेर विधिपूर्वक जात्रा सम्पन्न भएको छ ।

गत चैत २७ गते टौमढीबाट भैरव र भद्रकालीको रथ तानेरै सुरु भएको बिस्केट जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । बिस्केट जात्राको अन्तिम दिन गःहिटीबाट तान्न सुरु गरि भैरवको रथ राती अबेर तौमढी पु¥याएसँगै जात्रा सम्पन्न हुन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसके पछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् ।

जात्राको अन्तिम दिन पनि पहिलो दिनको जस्तै गहिटीबाट रथलाई आ–आफ्नो टोलमा तानातान गरिन्छ । रथमा रहेको बेताल र भैरवको मूल देवता झिकेर भैरव मन्दिरमा भित्र्याएपछि जात्रा समापन हुने प्रचलन छ । बिस्केट जात्राको अन्तिम दिनलाई स्थानीय भाषामा द्यः(देवता) थाँहाँ बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ ।

जात्राको अन्तिम दिन बिहान स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढाल्ने जात्रा सम्पन्न गरिन्छ । सोही अनुसार बिहान तान्त्रिक विधि अनुसार पूजा अर्चना गरि उभ्याइएको लिङ्गो ढालिएको थियो । हात नभएको लिङ्गो जात्रालाई स्थानीय भाषामा ल्हा मरुम्ह ल्योसिंद्यो जात्रा भनिन्छ ।

गःहिटीबाट तौमढीका तल र माथिका बासिन्दाले तान्ने क्रममा ढुङ्गा हानाहान र झगडा हुन नदिन भक्तपुर नगर क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । बिस्केटको लिङ्गो जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । जात्राका क्रममा हजारौँ जात्रालुहरुले होस्टे र हैँसे गर्दै डोरी तानातान गरि रथलाई आफ्नो टोलमा लैजान खोजेको दृश्य साँच्चैको मनोरम हुने गर्दछ । रथलाई तल्लो वा माथिल्लो जुन टोलमा लैजान सक्यो त्यही टोल विजयी भएको मानिन्छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत ( नागनागिन म¥यो ) भन्ने भावका आधारमा लिच्छविकलादेखि मनाइँदै आएको भनाई छ ।

तलेजु भवानी र बिस्केट जात्राको अन्योन्याश्रित सम्बन्ध रहेको छ । बिस्केट जात्रा शुरु हुनु १९ दिन अगाडि तलेजुबाट बिस्केट जात्राको साइत पत्र दिइन्छ र जात्राकै क्रममा तलेजुस्थित दुई देवीको स्थानमा कर्माचार्य पुजारीद्वारा विधिवत् पूजा गर्ने चलन छ । जात्रा सञ्चालन गर्न टोल टोलका बासिन्दा खटिएका थिए । जात्राका कारण यहाँका बासिन्दालाई भ्याई नभ्याई भएको थियो । बिस्केटको भोज सकिएपछि मात्रै यहाँका बासिन्दालाई बल्ल फुर्सद पाउने स्थानीयहरू बताउँछन् ।

हालसम्म बिस्केट जात्राप्रतिको जनउत्साह र आकर्षणमा कमी नआउनु र मौलिकता समेत विखण्डित नहुनु यो जात्राको विशेषता मान्न सकिन्छ । तर नेपालको सांस्कृतिक पर्वमै अत्यन्त महत्वपूर्ण रहेको बिस्केट जात्रालाई शान्तिपूर्णरुपमा मनाउन सबै सचेत र जागरूक हुनुपर्ने संस्कृतिविद्हरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button