तपाईँ सुन्दै हुनुहुन्छः

फ्रेन्ड्स क्लबको फराकिलो जित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हिमालयन शेर्पा क्लबलाई फ्रेन्ड्स ६–० गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे । अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा राफिकले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

३२ औँ मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । खेलको ३८ औँ मिनेटमा राफिकले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रेन्ड्स ३–० ले अघि रह्यो ।

खेलको ५८ औँ मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता ४–० को बनाए । खेलको ७२ औँ मिनेटमा उत्तमले गोल गर्दै फ्रेन्ड्सलाई ५–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ६–० को जित दिलाए ।

फ्रेन्ड्सको यो दोस्रो जित हो । उसले ८ अङ्क जोडेको छ । फ्रेन्ड्स १२ औँ स्थानमा उक्लिएको छ ।

चौथो हार व्यहोरेको हिमालयनले ९ अङ्क जोडेको छ । हिमालयन ११ औँ स्थानमा रहेको छ ।

अर्को खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

च्यासल मैदानमा सोमबार भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अङ्क जोडेको छ । थ्री स्टार छैटौँ स्थानमा रहेको छ ।

चर्च ब्वाइजले १५ अङ्क जोडेको छ । चर्च तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button