‘प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद्को’ बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय सरकारबीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीहरूले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरू दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभाव आदिका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीयतहले सञ्चालन गर्ने कार्यहरूको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाँडफाँड, स्थानीय तहका आवधिक योजना निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषद्को कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने लगायतका विभिन्न निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्