तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिले दिएका सुझावहरू कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री शर्मा

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय समितिले दिएका सुझावहरू कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन,२०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको भन्नुहुँदै समितिका निर्देशनहरूलाई पालना गरेर अघि बढ्ने बताउनुभयो ।

मन्त्री शर्माले सङ्घीयता कार्यान्वयन सम्बन्धी कानुन बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको भन्नुहुँदै सङ्घीय निजामती सेवाका कर्मचारीको सरुवालाई अनुमान योग्य बनाउन सङ्घीय निजामती सेवा ऐनलाई  छिटोभन्दा छिटो संसद्मा लैजाने बताउनुभयो ।

मन्त्री शर्माले सार्वजनिक खरिद ऐनको प्रावधानका कारण कतिपय राष्ट्रिय गौरवका आयोजनमा समस्या देखिएको भन्नुहुँदै समाधानका लागि ऐनको संशोधन गर्न सरकारले तयारी थालेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले पशुपति क्षेत्र विकास कोषलाई पारदर्शी एवं व्यवस्थित रूपले सञ्चालनका लागि समितिले दिएको निर्देशन बमोजिम समिति गठन भई कार्य प्रारम्भ भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले निजगढ अन्ताराष्ट्रिय विमानस्थलका सम्बन्धमा दिइएको निर्देशनका सम्बन्धमा विज्ञले दिएका सुझावहरूसहितको कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । मन्त्री शर्माले कोभिडका कारण थप समस्या हुन नदिनेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरुले  संसदीय समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो  ।

सांसदहरुले समितिले दिइएका निर्देशन कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सांसदहरुले राष्ट्रिय गौरवका आयोजना, सङ्घीयता कार्यान्वयन, प्रहरी समायोजन , सङ्घीय निजामती सेवा ऐन, निजगढ विमानस्थल निमार्ण, पशुपति क्षेत्र विकास कोष, कोभिडको प्रभावकारी नियन्त्रण लगायतका विषयमा समितिले दिएका निर्देशन कार्यान्वयनमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती)ले समितिको आर्थिक वर्ष , २०७५/७६,७६/७७ र ७७/७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । 

प्रस्ताव प्रस्तुत गर्नुहुँदै समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती)ले निर्देशन दिने र कार्यान्वयन गर्ने संयन्त्रबीच  निरन्तर समन्वय हुन नसकेको बताउनुभयो ।

प्रतिवेदनमा समितिले दिएका निर्देशन मध्य ५४ वटा निर्देशनको पूर्ण कार्यान्वयन भएको, ७६ वटा निर्देशनको आंशिक कार्यान्वयन भएको र १७ वटा निर्देशन कार्यान्वयन नभएको पाइएको छ ।

यस्तै बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

नेपाली काँग्रेसको तर्फबाट वि.स २०१५ सालको प्रतिनिधि सभाको निर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं २६ बाट निर्वाचित सांसद तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत चैत २४ गते शुक्रवार निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि मङ्गलवार दिउँसो साढे २ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button