सुनसरीमा जुरसितल पर्व हर्षाेउल्लासका साथ मनाइयो
सुनसरी । सुनसरीमा नयाँ वर्ष तथा जुरसितल पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
सुनसरीका साथै मोरङ, झापा लगायतका ठाउँ ठाउँमा एक महिने सिरुवा मेला समेत सुरु भएको हो ।

जुरसितल पर्वमा ठुलाबडा तथा मान्यजनबाट सानाहरूले शिरमा पानी थापी आशीर्वाद लिने र सानाहरूले मान्यजनको खुट्टामा पानी चढाएर ढोग गर्ने चलन रहिआएको छ ।
सुनसरी लगायतका क्षेत्रमा यादव, मेहता, साह, चौधरी, सरदार, मुसहर लगायतका समुदायले परिवारमा कल्याण, सुख, शान्ति प्रगति तथा लामो आयुको कामना गर्दै ज्येष्ठ सदस्यहरुले शिरमा तथा साना कनिष्ठ सदस्यहरुले खुट्टामा पानी छर्केर जुरसितल भन्दै सिरुवा पर्व मनाउने गरिन्छ ।

नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायका मानिसहरूले सिरुवा पर्व मनाउने गर्दछन् । केहीले पहिलो दिन जुरसितल अर्थात् सतुवाईन, केही समुदायले दोस्रो दिन जुरसितल हिलो (धुरखेल) गरी सिरुवा पर्व धुमधामका साथ मनाउने गर्छन् । वर्षभरि शीतलता प्राप्त होस भन्दै पानी शिरमा हालेर सिरुवा खेल्ने गरेको जानकारहरू बताउँछन् ।
यसैक्रममा सुनसरीको कोश टप्पु वन्यजन्तु आरक्ष र कोशी ब्यारेज, धनकुटाको भेडेटारमा नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको थियो ।
सप्तकोशी नदीको कोशी ब्यारेज र कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ वर्षको अवसरमा शुक्रबार, शनिवार दिनभर पर्यटकको भिड बढेको कोश टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्