तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्ला भित्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् । 

आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले  प्रतियोगिता बारे जानकारी दिनुभयो । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 

व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले बताउनुभयो । 

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठ हाल अमेरिकामा बस्दै आउनुभएको छ । यसबर्ष भलिबलबाट सुरु हुने यस प्रतियोगिता आगामी वर्षहरूमा निरन्तरता दिने राम श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको आयोजक समितिका श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुनर्निर्माण सहयोग गर्दै आएका श्रेष्ठले खेल क्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ । 

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट मेलम्चीमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्धनका लागि भलिबलको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले यसले गर्दा जिल्लाका खेलाडीहरूमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button