सुरक्षण मुद्रणलाई प्रयोगमा ल्याउँदा राज्यको अर्बाैं रकम देशबाहिर जानबाट रोक्न सकिन्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधी मन्त्री रेखा शर्माले थाती रहेका विधेयकलाई अघि बढाउने सरकारको प्राथमिकताअनुसार सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई अघि बढाइएको बताउनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री शर्माले देशभित्र सुरक्षण मुद्रणलाई प्रयोगमा ल्याउँदा राज्यको अर्बाैं रकम देशबाहिर जानबाट रोक्न सकिने भएकोले देशका लागि आवश्यक र महत्वपूर्ण विधेयक भएको बताउनुभयो ।
सभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री शर्माले क्षमता र दक्षतालाई बढाउँदै सुरक्षण मुद्रण सुरक्षाको हिसाबले संवेदनशील भएकाले सरकारकै नियन्त्रणमा मुद्रण प्रयोग तथा सञ्चालन गरिनु उपयुक्त हुने बताउनुभयो । कानुन अभाव रहेकोले अवस्था अनुसार आवश्यक परिवर्तन गर्दै कानुन बनाउने सरकारको ध्येय रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै, विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले यो विधेयक देशको आर्थिक क्षेत्र, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धसँग समेत सम्बन्धित भएकोले संवेदशीलतालाई ध्यानमा राख्दै महत्वका साथ अघि बढाइनुपर्ने सुझाव दिनुभयो । छलफलमा सांसदहरूले स्वदेशमा सुरक्षण मुद्रण नहुँदा बर्सेनि अर्बाैं रकम विदेश जाने, नक्कली मुद्रण प्रयोग गर्ने जस्ता समस्या रहेकाले पर्याप्त बजेटको व्यवस्था र स्पष्ट खाका्सहित विधेयकलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
सभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरूले सरकारी भवन निर्माण गर्दा ठूला ठूला भवनभन्दा आर्थिक भार नपर्ने गरी सरकारका कार्यालयहरूको बनावटमा एकरूपता ल्याउनुपर्ने, औपचारिक निमन्त्रणाबिनै प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा भइरहँदा देशको भूमि, सीमा, असमान सन्धिका बारेमा सरकारले उचित अडान राख्नसक्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै पीडित र पीडकलाई न्याय र सजायको निश्चितता गर्नेगरी बृहत छलफल गरेरमात्रै द्वन्द्व पीडितको विषयमा समस्या समाधान गरिनुपर्ने, महिला हक र समानताका लागि इतिहासमा योगदान दिएका योगमायाहरू जस्ता संघर्षसील महिलाहरूको त्यागलाई सरकारले दस्ताबेजीकरण गर्दै निराश बनेका आजका पुस्तालाई प्रेरणा दिन पाठ्यक्रममा समावेश गर्नुपर्नेमा पनि सांसदहरूले ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन हुन नसक्दा बन्चरेडाँडा आसपासका बासिन्दालाई पुगेको असरबारे सरकारले स्थानीय तहसँग समन्वय गरी उचित कदम चाल्नुपर्ने सांसदहरूले बताउनुभयाे । यस्तै बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले नयाँ वर्ष मनाउन भारतबाट नेपाल फर्किँदै गरेका बझाङका नागरिक चढेको सवारीसाधन बैतडीमा दुर्घटना हुँदा मृत्यु भएका र घाइते भएकाहरूले क्षतिपूर्ति पाउनुपर्ने, मिटरब्याजकाे छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, स्मार्ट टेलिकमले सरकारलाई तिर्नुपर्ने दस्तुर र नवीकरणका लागि तिर्नुपर्ने रकम नतिरी नवीकरण गर्न लागेको र मन्त्रीपरिषद्बाटै यो निर्णय हुन लागेको भन्दै यस्तो नीतिगत भ्रष्टाचार हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्