धुलिखेल–खावा सडक १० महिनामा १० प्रतिशत काम, प्रशासनलाई ठेकेदारले टेरेनन्

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पछिल्लो समय यात्रा गर्ने यात्रुहरूले निकै सास्ती बेहोर्नुपरेको छ ।
यात्रुहरूले कष्टकर यात्रा गर्नुपरेपछि धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतिको काम समयमा नै सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका जनप्रतिनिधि, प्रशासन तथा सडक डिभिजन कार्यालय भक्तपुरले समेत ताकेता गरेको छ ।
सडक बिस्तार तथा स्तरोन्नति काम सुरु भएको १० महिना हुँदा जम्मा १० प्रतिशत मात्र काम भएपछि निर्माण पक्ष गौरी–पार्वती निर्माण सेवा प्रालि प्रति सबैले आक्रोश पोखेका छन् ।
सडक निर्माण कम्पनीका ठेकेदारले जिल्ला प्रशासन कार्यालयलाईसमेत नटेर्ने गरेको पाइएको छ । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले आयोजना गरेको पत्रकारहरूसहितको छलफल कार्यक्रममा निर्माण कम्पनीका ठेकेदारलाई पनि बोलाइएको थियो । तर गौरी, पार्वती निर्माण सेवा प्रालिका प्रमुख राम कुमार थापा उपस्थिति हुनुभएन ।

निर्माण सुरु भएको ४७ प्रतिशत समय बितिसक्दा १० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिनुभयो । निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको ठोकुवा गर्दै एक हप्ता भित्र सडक निर्माणले गति नलिए ठेक्का नै खारेज गर्ने चेतावनी सडक डिभिजन कार्यालयले दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार आयोजना गरेको सरोकारवालाहरू बीच भएको छलफलमा डिभिजन प्रमुख मेघराज मरासिनीले पटक पटक लिखित र मौखिक रुपमा ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकोले बाध्य भई ३ दिने स्पष्टीकरण सोधेकाे बताउनुभयाे । स्पष्टीकरण पनि चित्तबुझ्दो नआएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो- ‘अब ७ दिन हेर्छौ , ७ दिनभित्र चित्तबुझ्दो गरी तीव्र गतिमा काम गरेन सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही अगाडि बढाउनेछौँ ।’
सडक खण्डको विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि बीच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । ३० करोड ७८ लाख २ हजार ३० रुपैंयाको लागतमा उक्त सडक खण्डको बिस्तार तथा स्तरोन्नतिको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो ।
ढिलासुस्तीको कारण खोज्न र कामलाई तीव्र पार्न सडक डिभिजन कार्यालय भक्तपुरले पटक–पटक पत्राचार गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको पहलमा धुलिखेलमा सरोकारवाला निकायहरुविचमा छलफल भएको हो ।
छलफल कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कामलाई तीव्रता दिन निर्माण व्यवसायीलाई एक हप्ताको समय सीमा तोकिएको बताउनुभयो । ‘धुलिखेलबाट केराघारीसम्म यात्रु सहजै पुग्न सक्ने स्थिति छैन, खाल्डा–खुल्डी धेरै छन्, यात्रुहरूलाई धेरै सकस छ, यात्रुलाई सकस दिएर निर्माण व्यवसायी आनन्द बस्न पाउने छैनन् ।’ भोलि (बुधबार) बाटै खाल्डा–खुल्डी पुर्ने कामलाई अघि बढाउन प्रमुख गौतमले निर्देशन दिनुभयो ।
निर्माण व्यवसायीले भोलि (बुधबार) बाटै कामलाई तीव्रता दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तीव्रता दिन एक हप्ताको अल्टिमेटम दिएको समय सिममा पनि निर्माण व्यवसायीले कामलाई तीव्रता नदिएमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
छलफलमा सवारी साधनले तोकिएको भन्दा बढी भार बोकेका कारण सडक दुर्घटना हुने र सडक समेत बिग्रिने हुँदा तौल पुल सञ्चालनमा ल्याउन कारबाही अगाडि बढाउने, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नेपाल सरकारद्वारा तोकिएको सहुलियत उपलब्ध गराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।








प्रतिक्रिया राख्नुहोस्