सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीको तेस्रो जित
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलवार जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराउँदै आर्मीले तेस्रो जित निकालेको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे ।
जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औँ मिनेटमा नवयुगले गोल गर्दा आर्मी २–० ले अघि रह्यो ।
खेलको ६२ औँ मिनेटमा सुनिलले गोल गर्दै जवालाखेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८० औँ मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३–१ को जित दिलाए । जितसँगै आर्मीले ८ खेलमा १२ अङ्क जोडेको छ । आर्मी पाँचौँ स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १४ अङ्क जोडेको छ । जवालाखेल दोस्रो स्थानमा यथावत् रहेको छ ।
अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फराकिलो जित निकालेको छ । च्यासल मैदानमा मङ्गलवार मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलको फराकिलो जित निकालेको हो ।
मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । विमल घर्तीमगर र विजय भुजेलले एक एक गोल थपे । खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए । जारी लिगमै सर्वाधिक गोल भएको खेल भएको छ ।
मछिन्द्रको यो तेस्रो जित हो । मछिन्द्रले ८ खेलमा १२ अङ्क जोडेको छ । मच्छिन्द्र छैटौँ स्थानमा उक्लिएको छ । खुमलटारको यो पाँचौँ हार हो । दशौँ स्थानको खुमलटारले ८ खेलमा ७ अङ्क जोडेको छ ।








प्रतिक्रिया राख्नुहोस्